बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।

२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।

बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालिदाले समर्थन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *