महाकुलुङ आधारभूत अस्पताल भवन उद्घाटनको सम्पूर्ण तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१, बुङमा निर्माण सम्पन्न भएको १५ शैयाको महाकुलुङ आधारभूत अस्पताल भवनको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त भवनको भोली अर्थात मंसिर २६ गते उद्घाटन गरिने भएको हो ।

नयाँ भवनको उद्घाटन कोसी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ को प्रमुख आतिथ्यतामा गरिने गाउँपालिकाले जनाएको छ ।

सोही अवसरमा मानसिक स्वास्थ्य र पर्यटन प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । दिउँसो भवन उद्घाटन कार्यक्रम रहेको छ भने साँझ सांगितिक कार्यक्रम हुने गाउँपालिका अध्यक्ष सूर्य कुलुङले जानकारी दिनुभएको छ । कार्यक्रममा राई इज किङ राजेश पायल राई, कमल खत्री, बबिना किराँती, कुमार प्रयास, अजय अलङ्कार, तथा हास्य कलाकार सुबोध गौतम र उमेश राई (फुलन्देकी आमा) ले प्रस्तुति दिने छन् ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङका अनुसार गायक–गायिका राजेश पायल राई, बबिना किराँती र अजय अलङ्कार महाकुलुङ पालिकाका “गानका गायकरगायिका” भएकाले सो अवसरमा विशेष सम्मान प्रदान गरिनेछ । साथै, अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमका लागि राजेशपायल राई सहितका कालाकार महाकुलुङ पुगि सकेको कार्यक्रम संयोजकले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *