आजबाट देशभर चिनियाँ खोप लगाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २५

२५ जेठ, काठमाडौं । चीनले अनुदानको रुपमा दिएको चिनियाँ खोप आजबाट विभिन्न उमेर समूहमा लगाइँदै छ ।

सरकारले यसअघि ६० देखि ६४ वर्ष उमेर समूहलाई मात्र लगाउने भनिएतापनि सोमबार एक परिपत्र जारी गर्दै स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तोकिएका जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

सोमबारको परिपत्र अनुसार अब सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी प्राथमिकतामा छन् भने तिब्बत सँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइने भएको छ ।

अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *