टुकुचा सफाइको दीर्घ समाधान—डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणमा तीव्रता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

काठमाडौंको मध्य क्षेत्र हुँदै बग्ने टुकुचा खोलालाई सफा र व्यवस्थित बनाउन डेढ करोड लिटर दैनिक प्रशोधन क्षमता भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माण तीव्र रूपमा अघि बढिरहेको छ। त्रिपुरेश्वर र कुपण्डोल दोभान क्षेत्र मिलाएर २.५३ हेक्टरमा निर्माण भइरहेको यो केन्द्र एडीबीको सहुलियतपूर्ण ऋणमा करिब रु ३ अर्ब १८ करोड खर्चमा बन्नेछ।

टुकुचाको प्रवाहलाई प्रशोधन केन्द्रमा मोडेर फोहोरपानी शुद्धिकरण गरी बागमतीमा मिसाउने योजना छ। प्रशोधन प्रक्रियाबाट करीब ८०० किलोवाट विद्युत् उत्पादन हुने भएकाले यसले काठमाडौं उपत्यकाको वातावरणीय सुधार र ऊर्जा क्षेत्र दुवैलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आज स्थलगत निरीक्षण गर्दै परियोजनाको प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। उनले निर्माण व्यवसायी, आयोजना व्यवस्थापन तथा परामर्शदातासँग कामको गति, देखिएका चुनौती तथा आवश्यक नीतिगत कदमबारे छलफल गर्दै परियोजना तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए।

मन्त्री घिसिङले बागमती नदी र यसको सहायक नदी–खोलाहरूलाई सफा गर्न सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाइरहेको उल्लेख गर्दै टुकुचा प्रशोधन केन्द्रले उपत्यकाको वातावरणीय सुधारमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *