दुई-तिहाइले घमण्ड भयो, तर चेत आएन’ — प्रचण्डलाई ओलीको कडा कटाक्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १४

काठमाडौँ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केवल चुनाव जितेर मात्र जनताको भरोसा कमाउन नसकिने बताएका छन्। उनले पछिल्लो निर्वाचनमा दुई-तिहाइ बहुमत पाए पनि सत्ता सम्हाल्न नसकेका दलहरूलाई लक्षित गर्दै कटाक्ष प्रहार गरेका छन्।

दाङको देउखुरीमा आयोजित ‘एकता सन्देशसभा’मा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै भने, “दुई-तिहाइ भएको संसद्मा कति गर्व गरेका थिए तर अन्त्यमा हेलिकोप्टर लिएर भाग्नु परेको थियो। चुनाव जितेपछि मात्र सबै समस्या हल हुन्छ भन्ने सोच गलत हो।”

उनका अनुसार हाल १५ वटा वाम घटकहरूको एकता साम्राज्यवादविरुद्धको संघर्ष र जनहितका मुद्दालाई अघि बढाउने उद्देश्यले भएको हो।

स्मरण गर्दै उनले भने, “अघिल्लो संसद्मा पनि मैले दुई-तिहाइको घमण्ड नगर्न चेतावनी दिएको थिएँ। जनतासँग दूरी बढ्दै गएको, भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको संरक्षण भइरहेको कुरा त्यतिबेलै भनेको थिएँ।”

प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारविरुद्ध र सामाजिक न्यायका पक्षमा कदम चालेका कारण आफूहरूलाई सत्ताबाट हटाइयो भन्ने दाबीसमेत गरे।

उनका अनुसार, “जनताका हकहितका मुद्दा उठाउँदा हामीलाई अपदस्थ गरियो। तर जनताले सबै कुरा नजिकबाट हेरेकै कारण अन्ततः त्यही राजनीतिक शक्ति जनताले अस्वीकार गरे।”

उता, एमाले अध्यक्ष ओलीले ‘जेनजी आन्दोलन’मा भएको तोडफोड तथा हिंसात्मक घटनामा प्रचण्डको भूमिका रहेको आरोप लगाउँदै आएका छन्। ती आरोपप्रति प्रचण्डले कठोर प्रतिवाद गर्दै भने, “ओलीजीले आफ्ना कमी–कमजोरी ढाकछोप गर्न अरूलाई दोष लगाइरहेका छन्। त्यसतर्फ उनले आत्मसमिक्षा गर्ने समय अझै पाएको जस्तो देखिँदैन।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *