काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘खड्का ल्यान्ड’मा आफ्नो कुनै पनि स्वामित्व नरहेको स्पष्ट गरेका छन्।
काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गा दीर्घकालदेखि ओगटिरहेको आरोप लागेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिमाथि बिहीबार काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यसको चर्चामा पूर्वमन्त्री खड्का पनि तानिएका थिए।
जग्गाको भाडा नतिरेको र संरचना नखालेको भन्दै युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा महानगरले सो स्थान खाली गराएका थियो। त्यसपछि विभिन्न सञ्चार माध्यममा खड्काको नाम जोडिएपछि उनले विज्ञप्ति जारी गर्दै आफू–खड्का ल्यान्डको कुनै पनि प्रकारको स्वामित्व वा संलग्नता नभएको दाबी गरेका हुन्।
पूर्वमन्त्री खड्काले भनेका छन्,
‘नेपाल स्काउटको भाडा विवादमा मेरो नाम जोडेर आएका समाचारप्रति मेरो गम्भीर ध्यान गएको छ। मेरो कुनै स्वामित्वसमेत नरहेको कम्पनीसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उद्देश्यले प्रसारित समाचारहरूले मेरो व्यक्तिगत तथा राजनीतिक जीवनमा आघात पु¥याएको छ।’
उनका अनुसार केही गिरोहहरूले क्षणिक स्वार्थका लागि आफ्नो नाम दुरुपयोग गरी बदनाम गराउने र राजनीतिक प्रतिशोध साँध्ने प्रयास गर्दै आएका छन्।
‘मेरो जीवन खुला किताबजस्तो छ। सबै कुरा पारदर्शी र जबाफदेही छ,’ उनले उल्लेख गर्दै सञ्चार माध्यमलाई सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न आग्रह गरेका छन्।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले पनि बिहीबार नै विज्ञप्ति जारी गर्दै कम्पनीमा पूर्वमन्त्री खड्काको कुनै स्वामित्व वा संलग्नता नरहेको स्पष्ट पारेको थियो।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्