अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन’– अध्यक्ष ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट बनेको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन्। भदौ २३ र २४ गते देशभर भएको तोडफोड र अशान्तिपछि गठन भएको सरकारलाई ‘गैरलोकतान्त्रिक’ भन्दै उनले यस्तो व्यवस्थाबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु निरर्थक हुने टिप्पणी गरे।

झापा जिल्लाका अगुवा कार्यकर्तालाई बिहीबार साँझ भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गर्न लागेको दाबी गर्नु नै हास्यास्पद भएको बताए। उनका अनुसार सरकारले तोकेको मितिमा चुनाव गर्न बाँकी चार महिना मात्रै भए पनि नेताहरूलाई जिल्ला–निर्वाचन क्षेत्रमा जान नदिने, प्रचारमा रोक लगाउनेजस्ता कदमजनताको आँखामा धुलो हाल्ने प्रयास मात्र हुन्।

ओलीले एमालेमाथि जेनजीका नाममा भएका हमला र घटनाहरू पार्टीले उठाएका राष्ट्रियता, विकास र समृद्धिका एजेन्डालाई कमजोर पार्ने उद्देश्यले गरिएका आरोप पनि लगाए। उनले यस्ता गतिविधि नियन्त्रण गर्न एमाले सक्षम रहेको दाबी गरे।

समाजमा बढ्दै गएको अराजकता रोक्न पार्टीले ‘टोल सुरक्षा समिति’ गठन गर्न थालेको जानकारी दिंदै उनले यस्ता समितिले आपराधिक गतिविधि नियन्त्रण, संलग्न व्यक्तिलाई प्रहरीका जिम्मा लगाउने र समुदायमा सुरक्षाको अनुभूति दिलाउने भूमिकामा रहने बताए।

प्रतिनिधि सभा ‘गैरसंवैधानिक’ रूपमा विघटन गरिएकाले यसको पुनर्स्थापनाका लागि पार्टीभित्र र जनता बीच दबाब निर्माण गर्न उनले कार्यकर्तालाई निर्देशन दिए। प्रतिनिधि सभा पुनर्स्थापनामार्फत लोकतान्त्रिक व्यवस्था फेरि सही मार्गमा आउने उनको भनाइ थियो।

अध्यक्ष ओलीले कात्तिक २९ गते झापामा आयोजना हुने जागरण सभालाई भव्य बनाउन पनि निर्देशन दिए। केन्द्रीय कार्यक्रम सकिए पनि जिल्लाले आफ्नै ढंगले आन्दोलनका कार्यक्रम निरन्तर रूपमा अघि बढाउनुपर्ने धारणा उनले राखे।

बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३/२४ का घटनापछिको अवस्था र स्थानीय क्षतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *