प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाडौं, असोज ३० – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बुधबार १० वटा रिट निवेदन दर्ता भएका छन्। प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन र पुनःस्थापनासम्बन्धी मागसहित यी रिटहरू दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार दर्ता भएका रिटहरूमा उत्प्रेषण र परमादेश आदेशको माग गरिएको छ र ती रिटहरूमा कात्तिक १२ गते संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

सर्वोच्च अदालतमा गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, ढुङ्गामुढा र लुटपाटका कारण रिट निवेदन दर्ता र नियमित सुनुवाइ कार्य स्थगित गरिएको थियो। त्यसयता अत्यावश्यक र बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामात्र सुन्दै आएको अदालतले मङ्गलबारदेखि पुनः रिट दर्ता र सुनुवाइ खुला गरेको हो।

रिट निवेदन पेस गर्नेमा अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल रहेका छन्।

यही असोज २६ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पूर्ण न्यायाधीशहरूको बैठक (फूल कोर्ट) बसेर असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ खुला गर्ने निर्णय गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *