ओलीको नेतृत्वमा बहस चुलिँदा एमालेमा महाधिवेशनको मिति तय हुने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज टुंगोमा पुग्ने तयारीमा छ, जसमा पार्टीभित्र चर्किंदै गएको नेतृत्व हस्तान्तरण, संसद पुनःस्थापना बनाम निर्वाचन तयारी, र महाधिवेशनको मिति निर्धारणसम्बन्धी बहसको टुंगो लगाउने अपेक्षा गरिएको छ।

शुक्रबारदेखि गुन्डुमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने भन्ने विषयमा तीव्र बहस भइरहेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। शाक्य र ज्ञवालीले त लिखित रूपमा राजीनामा माग समेत गरेका छन्।

पार्टी पुनर्गठनको आवाजसँगै महाधिवेशन छिट्टै बोलाउनुपर्ने धारणा बलियो बन्दै गएको छ। पार्टीले विधान महाधिवेशन सकाइसकेकाले अब राजनीतिक महाधिवेशन ढिलो नगर्नुपर्नेमा धेरै नेताहरू एकमत छन्। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले महाधिवेशनको मिति प्रस्ताव गर्ने सम्भावना बलियो छ। आगामी चुनाव फागुन २१ मा हुने भनिएकाले महाधिवेशन मंसिर वा पुसमै गर्न सकिने चर्चा छ।

आजको बैठकमा बाँकी पदाधिकारीहरूले आफ्नो धारणा राखेपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। त्यसपछि पार्टीको संस्थागत निर्णय सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।

यता, पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने विषयमा पनि छलफल चलेको छ। उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले विद्यालाई निष्क्रिय बनाउने प्रयासले पार्टीभित्र असन्तुष्टि र विभाजन बढ्ने चेतावनी दिएका छन्।

यसैबीच, संसद पुनःस्थापना गर्ने रणनीति अख्तियार गर्ने कि आगामी निर्वाचनको तयारीमा लाग्ने भन्ने विषयमा पनि नेताहरूबीच मतभेद कायमै छ।

अहिले जारी बहसहरूको निष्कर्ष आजै आउने अपेक्षा गरिएको छ, जसबाट पार्टीको आगामी दिशा तय हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *