कांग्रेस पदाधिकारी बैठक आज, देउवामाथि नेतृत्व हस्तान्तरणको दबाब चुलिंदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २३

काठमाडौं, असोज २३ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि तय केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक संवेदनशील समयको पूर्वसन्ध्यामा हुन लाग्दा पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब झनै चुलिएको छ। विशेषतः महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाको पहलमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। उनीहरूले देशभरका महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षर संकलन अभियान पनि सुरु गरिसकेका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणपछि उनीहरू सार्वजनिक जीवनबाट केही टाढा छन्। सो आक्रमणपछिका गतिविधिहरूले पार्टी नेतृत्वमा स्थायित्वको प्रश्न उठाएको छ।

पार्टीभित्र देउवालाई कार्यवाहक सभापति तोकेर बिदा हुनुपर्ने वा नियमित महाधिवेशनको विकल्प खोजिनुपर्ने आवाज उच्च स्वरमा उठिरहेको छ। तर यदि समयमै नियमित महाधिवेशन सम्भव नभए, विशेष महाधिवेशन गर्ने वैकल्पिक प्रस्ताव पनि अगाडि सारिएको छ।

आजको बैठकले यी सबै विषयलाई औपचारिक रुपमा एजेन्डामा समेट्ने सम्भावना उच्च छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *