काठमाडौं, असोज १७ –राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्था बाहेक चार दिनसम्म यात्रा नगर्न आग्रह गरेको छ। असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म लामो यात्रा टार्न अनुरोध गरिएको हो।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जल तथा मौसम विज्ञान विभागले ती पाँच प्रदेशमा भारी वर्षाको सम्भावना जनाएपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहसम्म पुग्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन भनिएको छ।
उच्च जोखिममा रहेका जिल्ला:
- बागमती प्रदेश: काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन
- कोशी प्रदेश: सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ
- मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट
यी जिल्लाहरूमा बहने स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले सम्भव भएसम्म घरदेखि टाढा र विशेष गरी रातको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा तथा सडकको अवस्था अनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय गर्नु पर्ने र सबैले त्यस्तो निर्णयको पालना गर्नुपर्ने बताएको छ।
डुबान र पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित तथा अग्लो स्थानको जानकारी राख्न र आवश्यक परेमा सुरक्षित स्थानतर्फ जान पनि अनुरोध गरिएको छ।
प्राधिकरणले तीनै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Autumn1822
October 3, 2025https://shorturl.fm/Tw8f7