वैदेशिक रोजगारीका क्रममा आठ वर्ष खाडी मुलुकमा पसिना बगाएका कमल भण्डारीले देश फर्किएपछि झापाको विर्तामोडमा घर बनाउँदै थिए। सपना थियो—बुढेसकालका बाबुआमालाई पनि गाउँबाट झिकेर आफ्नै न्यानो छानामुनि राख्ने। तर, त्यो सपना अधुरै रह्यो।
पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका ३० वर्षीय कमलले गत वैशाखमा साउदी अरबबाट फर्किएपछि झापामा परिवारसँगै बसेका थिए। श्रीमती सीता र पाँच वर्षका छोरा झापामै थिए। उनी घरको भुइँतला निर्माण गरिरहेका थिए, दसैँसम्ममा परिवारलाई नयाँ घरमा लैजाने लक्ष्यसाथ।
“दसैँमा घर सिङ्गारेर आउँछु भनेको थियो,” वृद्ध बाबु गणेशप्रसाद भण्डारी सम्झिन्छन्, “तर कान्छो छोराले भन्यो—दाजुलाई गोली लागेछ।”
कमल भदौ २४ गते झापाको विर्तामोडमा जेन–जी आन्दोलनमा सहभागी हुन गएका थिए। उनले श्रीमतीलाई भनेका थिए, “छिट्टै फर्किन्छु।” तर त्यो साँझपछिको उनको खबर घरमा आइएन।
मोबाइल लाग्थ्यो, तर आवाज आउँदैनथ्यो। रातभरि चिन्तामा बित्यो। भोलिपल्ट बिहान १० बजे बिएण्डसी अस्पतालबाट फोन आयो—”तपाईंको बिरामी यहाँ हुनुहुन्छ, आएर लिनुहोस्।”
त्यो बिरामी कमल थिए। आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नजिकै झडप हुँदा उनको कन्चटमा गोली लागेको थियो। अस्पताल पुगेपनि धेरै ढिलो भइसकेको रहेछ। चिकित्सकहरूले ‘गोली निकाल्न सकिएन’ भने। परिवारलाई भेट्न नदिइएको, अवस्था देख्न नदिइएको पीडा बहिनी माया भन्छिन्—“हामीले थाहा पाउँदासम्म त धेरै ढिलो भइसकेको रहेछ।”
भदौ २८ गते अमरपुर ल्याइएको कमलको शव गाउँलेको आँखाअगाडि जलाइयो।
घर अधुरै छ, सपना अधुरै छ।
बाबु बिरामी छन्, आमा कान नसुन्ने। श्रीमती सीता गर्भवती छन्, ‘अर्धचेत’ अवस्थामा। पाँच वर्षका छोराले अब बाबु देख्ने छैन, गर्भमा रहेको सन्तानले त बाबु चिन्न पनि पाउने छैन।
कमलका काका शान्तिराम भन्छन्, “यिनीहरुको भविष्य के होला भन्ने ठूलो चिन्ता छ।”
सपना थियो—बुढाबुढीलाई स्याहार्ने, एउटै छानोमुनी राख्ने। तर त्यो सपना सँगै चितामा बिलायो। आन्दोलनमा सहादत प्राप्त गरे पनि न त कुनै जनप्रतिनिधि आए, न त कुनै नेता।
“वडाध्यक्षसम्म आएनन्,” बहिनी माया भन्छिन्, “दाइले देशका लागि ज्यान दिए, तर राज्यले वास्ता गरेन।”
कमलले रगतले लेखेको परिवर्तन, पीडित परिवारको आँखामा अझै प्रश्न बनेर टिलपिलाइरहेको छ—
“के यस्तै हो देशमा परिवर्तन ल्याउने सपना ?”

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्