जेनजी प्रदर्शनमा ज्यान गुमाएका २७ जनाको शव परिवारले बुझे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

काठमाण्डौँ । जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका ३० जनाको शव पोस्टमार्टम भइसकेको छ ।

तीमध्ये २७ जनाको शव परिवारले बुझेका छन् । २३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ ।

फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ ।

उनका अनुसार ती शवको पोस्टमार्टम गर्न लामो समय लाग्छ । अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने डा. चौधरीले बताए ।

उनका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर यस्तो विपदमा जलेको अवस्थाको शव पहिचानको लागि पोस्टमार्टम गरिन्छ ।

आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्काको विवरण हेरेर पहिचान गरिने उनले जानकारी दिए ।

सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । सरकारले जेन-जी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् ।

यसैवीच, सरकारले मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख दिने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *