बीपी राजमार्ग अझै अस्थायी रूपमा सञ्चालनमा, यस वर्षको चाडपर्वमा पनि कष्टकर यात्रा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २१

काठमाडौँ । संघीय राजधानी काठमाडौँलाई देशका पूर्वी जिल्लासँग जोड्ने छोटो दूरीको सडक हो बीपी राजमार्ग । मानिसहरू यो राजमार्ग हुँदै नेपालको पूर्वी भू–भागका अधिकांश जिल्ला आवतजावत् गर्छन् ।

२०८१ असोजको दोस्रो साता आएको बाढीका कारण भकुन्डेबेसीँ देखि नेपालथोकसम्म करिब २९.५ किलोमिटर ध्वस्त भएको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा छ । गत वर्ष दसैँको मुखमा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले उक्त सडक खण्डमा क्षति गरेको थियो ।

यससँगै अघिल्लो वर्षको दसैँमा काठमाडौँबाट घर जाने यात्रुहरूले दोब्बर–तेब्बर भाडा तिरेर वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गरेका थिए । सिन्धुली, रामेछाप, उदयपुर, ओखलढुंगा, भोजपुरलगाय पूर्वी जिल्लाका मानिसहरूले काठमाडौं–धुलिखेल–दोलालघाट–चरिकोट–किर्ने हुँदै मन्थली रामेछाप–सित्खापुल तरेर खुर्कोट सिन्धुली हुँदै आवतजावत् गरेका थिए ।

यस्तै काठमाडौँ–हेटौडाबाट मदनभण्डारी राजमार्ग हुँदे सिन्धुलीमाडी खुर्कोट भएर उदयपुर घुर्मी हुँदै यात्रा गर्न बाध्य भएका थिए ।

दसैँमा घर जानको लागि दोब्बर शुल्क तिरेर यात्रा गर्नुपरे पनि फर्किँदा भने अस्थायी ट्र्याक निर्माण गरी सञ्चालनमा आएको थियो । फर्किँदा भने यात्रा कठिन भए पनि भाडादर नियमित हुँदा यात्रुलाई सहज भएको थियो ।

यो वर्षको दसैँमा पनि बीपी राजमार्ग अवरुद्ध हुने त्रास छ । किनभने यो राजमार्ग अझै अस्थायी रूपमा सञ्चालनमा छ । अस्थायी ट्रयाक निर्माण गरी सञ्चालन भइरहेकाले यो सडक सामान्य वर्षामै अवरुद्ध हुने गरेको छ । वेलावेला सडकमा लेदोसहितको पहिरो खसेर अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

चाडपर्वमा अवरुद्ध हुन नदिन तयारी कस्तो छ ?

यस राजमार्गमा वर्षातको सिजनमा हिलो र हिउँदमा धुलाम्मे सडकका यात्रुहरूले कस्टकर यात्रा गर्न बाध्य भएका छन् । वर्षा रोकिएको छैन । अस्थायी रूपमा सञ्चालित उक्त सडक जुनसुकै वेलामा अवरुद्ध हुने जोखिम छ । चाडपर्वमा यो राजमार्ग अवरुद्ध हुन नदिन सडक विभागले नियमित रूपमा मर्मत सम्भार गरिरहेको छ भने अवरुद्ध भइहाले तत्काल खुलाउन उपकरण तैथान गरेको जनाएको छ ।

विभागका प्रवक्त प्रभातकुमार झाका अनुसार यस राजमार्गलाई अवरुद्ध हुन नदिन विभागले ३५ वटा उपकरण तयारी अवस्थामा राखेको छ ।

जसमध्ये विभागअन्तर्गत २२ वटा र निर्माण कम्पनीको १३ वटा यन्त्र–उपकरण तयारी अवस्थामा परिचालन गरिएको छ ।चाडपर्वमा यो सडक अवरुद्ध भइहाले पनि तत्काल खुलाएर सञ्चालनमा ल्याउन विभाग तयारी अवस्थामा रहेको जनाइएको छ ।

विभागले यो वर्ष सम्भावित जोखिमको पूर्वमूल्यांकन गरी रोकथामका कामहरूलाई गरिरहेको छ । विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेका अनुसार अप्रत्याशित, ठुलो प्राकृतिक विपत्ति नआएसम्म यातायात अवरुद्ध हुने छैन । न्यौपाने भन्छन्, ‘जोखिमयुक्त, खोला किनारका क्षेत्रमा छ खोलाले पुनः भत्काउन सक्ने जोखिमलाई मध्यनजर गर्दै केही स्थानमा ग्याबियन जाली लगाउने र कुनै–कुनै ठाउँमा ढुंगा राखेर पिचिङ गर्नेजस्ता नियमित पुनर्निर्माणका कामहरू निरन्तर भइरहेका छन् ।’

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्यावियन जालीको पर्खाल लगाइएको छ ।

कहिले सुरु हुन्छ स्थायी पुनर्निर्माण ?

स्थायी रूपमा पुनर्निर्माणका लागि धेरैजसो खण्डको ठेक्का लागिसके पनि स्थायी पुनर्निर्माण कार्य सुरु भएको छैन । मन्सुन सकिएपछि अर्थात् चाडपर्वपछि मात्रै पुनर्निमाण सुरु गरिने विभागले जनाएको छ ।

विभागका अनुसार क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९.५ किलोमिटर सडकमध्ये ३ खण्डको ठेक्का लागिसकेको छ भने एक खण्ड जाइकाले निर्माण गर्नेछ । साढे २ किलोमिटर सडक ठेक्का लाग्न बाँकी रहेको जनाएको छ । यो दसैँअघि नै ठेक्का खुलाउने तयारी भइरहेको छ ।

नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड १ अर्ब बराबरको लागत अनुमान गरेकोमा ६१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण गर्ने गरी सडक डिभिजन खाल्टेले खरिढुंगारघिसिङरक्षितिज जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

यस्तै बर्खेखोलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक जाइकाले पुनर्निर्माण गर्ने जिम्मा लिइएको छ । पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर सडक ठेक्का लगाउने तयारी भएको छ । यो खण्डको लागत करिब १ अर्ब २१ करोड लाग्ने अनुमान गरिएको छ ।

यसैगरी डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड निर्माण गर्न २ अर्ब ४५ करोड लागत लाग्ने अनुमान गरिए पनि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का लिएको छ ।

साथै चारसय बेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । यो सडक खण्ड पुनर्निर्माणका लागि २ अर्ब ५२ करोड लाग्ने अनुमान गरिएकोमा १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

पुनर्निमार्णमा किन ढिलाइ ?

एक वर्षअघि क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनर्निर्माणका दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का प्रक्रिया अघि बढाइएको छ । साथै यस खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड (साढे आठ अर्ब) रुपैयाँ स्रोत सहमति दिइएको छ । जसमध्ये बीपी राजमार्गको भक्तपुर खण्डलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुली खण्डलाई १ अर्ब रुपैयाँ बराबरको स्रोत सहमति दिइएको हो ।

यस्तै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदानसहित बर्खेखोलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक पुनर्निर्माण गर्ने सहमति गरेको छ । नेपालका पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने मुख्य राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा नै निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।

२०७२ को भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिवेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । यस पटक बाढी–पहिरोले क्षतिग्रस्त भएको यो राजमार्ग पुनर्निर्माणको जापानकै सहयोग हुने सरकारको अपेक्षा थियो । तर जाइकाले चासो नदेखाएपछि सरकारले पुनर्निर्माणका लागि ठेक्का खुलाएको थियो । ठेक्का सम्झौता गरेर पुनर्निर्माण थाल्ने समयमा वर्षा सुरु भएका कारण ढिलाइ भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *