नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हरायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २३

काठमाण्डौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्‍यो । निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।

पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागिसकेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । खेल आइतबार हुनेछ ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *