सिडिओ हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ६

सुर्खेत : सहायक सिडिओ र प्रमुख प्रशासकीय अधिकृतको नक्कली परिचयपत्र बनाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ को प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बोकेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन । प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए ।

‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ ।’प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाकसमेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *