
२९ चैत, काठमाडौं । ११ दिनपछि काठमाडौंमा फोहोर उठ्न सुरु भएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीन पिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै १८ चैतदेखि फोहोर बोकेर गएका गाडी चल्न दिएका थिएनन् ।
तर, ठेकदार कम्पनीले कालोपत्रे थाल्ने प्रतिवद्धता गरेपछि सोमबारदेखि फोहोर उठ्न थालेको हो । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउने काम रोकिएको थियो । यसअनुसार फागुन लागेयता मात्रै ३० दिन फोहोर उठ्न नसकेको देखिन्छ ।
सडक मर्मतमा असर पर्न नदिन राति गएर बिहान ८ बजेसम्म गाडीहरुले फोहोर फालेर आइसक्नुपर्ने अवस्था रहेको काठमाडौं महानगरपालिका, वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले जानकारी दिइन् । ‘सीमाभित्र बसेर काम गर्दा क्षमताअनुसार फोहोर उठाउन सकिंदैन,’ उनले भनिन्, ‘त्यसैले अहिले थुप्रिएका फोहोर उठाइसक्न नियमित अवस्थाको भन्दा बढी समय लाग्छ ।’
८ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने सडक अहिलेसम्म बनेको छैन । ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम भएको छ । ठेकदार शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् ।
गत १ फागुनदेखि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फगुनको अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए भने गत १८ चैतमा फेरि अवरोध सुरु भएको थियो ।
सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।
तर, अब सडक अवरुद्ध भएर फोहोर उठाउने काम पटक–पटक बन्द हुँदा काठमाडौंमा प्रदूषण फैलिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्