आठ दिनदेखि फोहोर उठेन, राजधानी शहर दुर्गन्धित

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २०

काठमाडौं – उपत्यकाको फोहोरमैला विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहट्ने भएको छ ।सिसडोलवासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्यान्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर विसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने भएका हुन् ।

सिसडोलवासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो । बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बिरामी परेको भन्दै बीचमै उठेर हिँडेपछि वार्ता असफल भएको सिसडोल क्षेत्र फोहोरमैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले बताए ।

उनले मेयर शाक्यकै कारण आफूहरूका कुनै पनि माग पूरा हुने स्थितिमा नरहेको र आफूहरू वार्तामा बस्दा अपमानित भएको महसुस गरेको पनि बताए । उनले महानगरले हेपाहा प्रवृत्ति देखाएकाले फोहोर विसर्जनका लागि सडक बन्द गर्ने निष्कर्षमा पुगेको बताए । सिसडोलवासीहरूले अव्यवस्थित फोहोर विसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकूल असर परेकाले यसअघिका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

उनीहरूले सिसडोल ल्यान्डफिल्डसाइट प्रभावित क्षेत्रका विद्यालयहरूलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने कार्य चैत १३ गतेदेखि पूर्ण रूपमा बन्द हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *