‘राई’ किन जाति होइन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ९

आम मानिसलाई ‘राई’ भन्नेबित्तिकै साँच्चै नेपालका एक जाति नै हो भन्ने भ्रम रहेको छ । २०२१ सालमा आएको भूमिसुधार ऐन लागु हुनुअघि निश्चित ठालु स्थानीय स्तरका शासक र सामन्तले मात्रै नामको अगाडि ‘राई’ पद पाउँथे । जस्तो : प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्री जस्ता पद नामको अगाडि आउँछ । 

अहिले त ‘राई जातै हो, राई थियो, जसले राई होइन भन्दै छ, उसको नागरिकता र तीनपुस्तेमा समेत राई छ’ भनी भ्रम फिँजाइयो, फिजाइँदै छ । यसरी एक जाति ‘राई’, २८–२९ (यति नै भनी टुंगो छैन) भाषी ‘राई’ भनी अझै पनि झालेमाले कुरो गरेर, ठुलो भिड र संख्या धेरै देखाएर, यसोउसो गरेर धेरै मानिसले खाईजीविका चलाउँदै आएका छन् । 

फलतः यसरी अलगअलग जातीय स्वपहिचान भएका किराती महाजातिभित्रका कुलुङ जाति लगायत किरातीहरू— जसको नेपालका अन्य जातजाति, समूह, वर्गका मानिसहरूसरह अलग्गै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक लगायत आधारहरू छन्, यसकारण उनीहरू  छुट्टै जाति हुने आधार छन्; तापनि उनीहरू नेपालका राजनीतिक दल, तिनका नेताहरूका साथै अन्य जातजातिका बिचमा जानाजान अथवा अन्जानमा ‘राई’ भनेर चिनिनुपर्ने विद्यमान अवस्था छ । 

किनभने, वास्तवमा हामी १६ खम्बुका सन्तान हौँ । वास्तवमा ‘राई’ न नेपालको कुनै ‘जात’ हो, न ‘जाति’ नै । यो त शासकले हाम्रा पितापुर्खालाई स्थानीयस्तरमा शासन गर्न दिएको पद–पदवी वा पगरी मात्रै हो । सेन, शाह वा राणाहरूको शासनकालदेखि पञ्चायती व्यवस्थासम्म यो ‘राई’ पदवी प्रचलनमा थियो । 

rai 2

जहाँसम्म नागरिकता, जग्गाधनी पुर्जा, पेन्सनपट्टा, वृद्घभत्ता कार्ड, स्कुल, कलेज, विश्वविद्यालय पढेको सर्टिफिकेट, ड्राइभिङ लाइसेन्स, विदेश जाने पासपोर्ट आदिमा समेत ‘राई’ छ भनी उदाहरण दिइने गरिन्छ । कुनै पनि मानिसको नागरिकता र पासपोर्ट भनेको ऊ कुन देशको नागरिक हो भनी चिनाउने परिचयपत्र हो । जाति वा समुदाय (अझ आदिवासी जनजाति) हुनलाई वा त्यसरी चिनिनका लागि त ऐतिहासिक भूमि, छुट्टै मातृभाषा, छुट्टै वेशभूषा, हामी भन्ने भावना, परम्परागत कानुन, फरक जीवनशैली, फरक धर्म, फरक संस्कार–संस्कृति, फरक जात्रापर्व, फरक लोकजीवन, फरक मिथ वा मिथक, फरक मूल्य–मान्यता आदि हुनैपर्छ । तर, ‘राई’ भनेको त सुरुमा ‘राय–राया–राइ’बाट आएको र अपभ्रंश भएर राई भएको शब्द हो । जुन शब्दले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ दिन्थ्यो । त्यसो त नेपाली बृहत् शब्दकोशअनुसार राईको अर्थ ‘एक जातको च्याङ्ग्रो, प्राचीन नेपाली भाषामा विशेषतः कर्णाली प्रदेशका राजालाई बुझाउने शब्द, प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी, पिप्लाको साग, नेपालको एक जाति किराँती’ आदि दिएको छ । 

वास्तवमा हामी १६ खम्बुका सन्तान हौँ । वास्तवमा ‘राई’ न नेपालको कुनै ‘जात’ हो, न ‘जाति’ नै । यो त शासकले हाम्रा पितापुर्खालाई स्थानीयस्तरमा शासन गर्न दिएको पद–पदवी वा पगरी मात्रै हो । सेन, शाह वा राणाहरूको शासनकालदेखि पञ्चायती व्यवस्थासम्म यो ‘राई’ पदवी प्रचलनमा थियो ।

अर्को महत्त्वपूर्ण प्रश्न भनेको यदि साँच्चै एक जाति ‘राई’, २८–२९ भाषी छन् भने किन ‘राई’ भनिनेहरूको संस्थाको नामचाहिँ बान्तवा जातिको भाषामा ‘यायोक्खा’ राखिएको छ ? त्यस्तै ‘राई’ जातिको नाच भनेर चाम्लिङ जातिको ‘साकेला’ नाचलाई किन अपनाइएको छ ? यसरी हेर्दा त ‘दिनलाई रात र रातलाई दिन’ भनी जबर्जस्ती प्रमाणित गर्न खोजेजस्तो भएन र ? लौ एकछिनलाई मानौँ कि एक जाति ‘राई’को २८–२९ वटा मातृभाषा हुन सक्छन् रे ! तर, अहिलेसम्म कुनचाहिँ ‘राई’ले ‘म एक जाति राई हुँ तर मेरो मातृभाषाचाहिँ २८–२९ वटा छन्’ भनेर २८–२९ भाषामा खररर बोल्न सक्छ ? त्यसैले बिनाआधार र प्रमाण राई जातै हो भनी कहिलेसम्म ‘सुगा रटाइ’ गरिरहने ? वास्तविकता के हो भने हामी कुलुङ लगायत हाल राई भनी चिनिनेहरू १६ खम्बुका सन्तानहरू हौँ । 

२०२१ सालमा आएको भूमिसुधार ऐन र सो ऐन गाउँगाउँ, टोलटोलमा लागु भएपछि ‘रैती’ वा भनौँ ‘ढाक्रे’हरू (अहिलेको भाषामा जनता) ले पनि आफ्नो नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ ‘देवान’, ‘चौधराई–चौधरी’ आदि लेख्न पाए । त्यसअघि केन्द्र सरकारलाई निश्चित रकमजस्तै भूमि कर, ठेकीबेठी, बेठबेगार, खर्चरी, सिर्तो आदि तिरेर मात्रै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावाल हुन पाउँथे । उनीहरूका हातमा तिरोभरो उठाउने, झैझगडा मिलाउने (पञ्चखत बाहेकको), ९९ रुपैयाँसम्मको जग्गा–जमिन किनबेच (घरायसी राजीनामा) गर्ने लगायत नियाँ–निसाफ हेर्ने अधिकार दिइएको थियो । 

तर, सोबापत ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावालहरूले आफ्नो अधिकार क्षेत्रभित्रका रैती वा ढाक्रेहरूलाई बोलाएर टीका–जमरा लगाई दिनुपथ्र्यो । दसैँ मान्नैपथ्र्यो, दसैँ मानेको प्रमाणस्वरूप ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’हरूको मूल ढोकाको दायाँ वा बायाँतर्पm मौलोमा मार हानिएको बोको वा राँगो (पदअनुसार जस्तै सानो राई वा सुब्बाले आफू जति नै धनी भए पनि बोको मात्रै मार हान्न पाउँथे भने, ठुलो राई वा सुब्बा जति नै गरिब भए पनि राँगो नै) मार हान्नुपथ्र्यो । हिमाली क्षेत्रका शेर्पा–भोटे–लामाहरूले काटमार नगर्ने हुनाले उनीहरूले मौलो राख्ने–नराख्ने थाहा हुन सकेको छैन, यो पङ्तिकारलाई थाहा भएन, थप अध्ययनको विषय हुन सक्छ ।

अझै पनि त्यसरी ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावाल भएका स्थानीयस्तरका छोटे राजाका सन्तानलाई गाउँघरमा ‘फलानो जिम्मावाल वा फलानो तालुकदार अथवा फलानो मुखियाका सन्तान’ भनेर बोलाउने प्रचलन हटिसकेको छैन । त्यसरी फुर्को लाएर बोलाउने गरिएकै छ । त्यस्ता ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा भनौँ जिम्मावालका जेठा छोराहरू काठमाडौँ लगायत सहर बजारमा अझै पनि प्रशस्तै भेट्न सकिन्छ । त्यसैले राई नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीलाई उनीहरूको भूगोल समेत फुटाएर वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत खम्बुका सन्तानलाई ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पद–पदवी–पगरी दिइएको थियो भन्ने प्रस्टै छ ।

डोरबहादुर विष्टको पुस्तक ‘सबै जातको फूलबारी’मा ‘राई भन्ने खासगरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालु वा मुखिया जनाउने शब्द मात्र हो । माझ किराँतमा धेरैजसो राईहरू आफूलाई जिमी वा जिमिनदार भन्ने गर्छन् । …बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, दमाईलाई नगर्ची, सार्कीलाई मिजार…’ भन्ने उल्लेछ । 

rai

यस्तै  ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने राईहरूलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई’हरू नै खुसी थिए’ भन्ने पनि विष्टको पुस्तकमा उल्लेख छ ।  

चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर गिभन द टाइटल अफ राई (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल ।’ जस्ता वाक्यांश परेका छन् । 

यो पङ्क्तिकारले सन् २००७ को ‘विश्व आदिवासी दिवसका अवसरमा आयोजित एक कार्यक्रमको प्रश्नोत्तर अवधिमा ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ’ भनेको थियो । तर जवाफ दिनुपर्नेहरूले अन्टसन्ट जवाफ दिए । त्यतिबेला भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले यो पंक्तिकार नजिक आएर भनेका थिए, ‘तपाईंले साह्रै रामो प्रश्न उठाउनुभयो, किनभने मेरा बाबु पनि ठुला राई थिए । भूमिसुधार ऐन आएपछि जग्गा–जमिन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली राई बाबुले म पो राई यी मेरा रैती/ढाक्रेहरू कसरी ‘राई’ भनी बबाल गरेका थिए । आखिरमा रैती/ढाक्रेहरूलाई राई लेख्न दिने कि नदिने भनी छलफल गर्न चार–पाँच दिनसम्म पञ्च–भलादमीको भेला नै डाक्नुपरेको थियो ।’

‘राई’ साँच्चै जात वा जाति हो कि पद–पदवी–पगरी मात्रै हो भनी जान्न–बुझ्नका लागि त्यो बेलाका ‘ठुला राई’ अर्थात् ५२ पगरीका ‘राई’का खलकहरूलाई सोधखोज गर्दा पनि हुन्छ । 

२०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा संघ–संस्था खोल्नलाई वातावरण केही खुकुलो भयो । ‘संस्था दर्ता ऐन–२०३४’ अन्तर्गत राई जातिको नाममा ‘राई यायोक्खा नामक एनजीओ (समाज कल्याण परिषदमा दर्ता नम्बर–२६५६ र पछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता नम्बर ३२८/०४९/०५०) दर्ता गरियो । सो संस्था दर्ता भएपछि राई जातिको नाममा यायोक्खाका हर्ताकर्ताहरूले राई जातिका भाषाको नाममा बान्तावा जातिको भाषा र राई जातिको नाचका नाममा चाम्लिङ जातिको ‘साकेला’लाई कुलुङ लगायत १६ खम्बुका सबै सन्तानमाथि जबर्जस्ती लादियो वा लाद्न खोजियो । त्यसपछि कुलुङ समुदायका अगुवाहरूले कुलुङ जातिको छुट्टै जातीय संगठन खोले । त्यसअघि २०४४ को पुसतिर कुलुङका केही अगुवाहरू भेला भएर धरानमा एक तदर्थ समिति गठन गरेका थिए । 

क्रमशः १६ खम्बुका सन्तानले पनि वास्तविकता बुझ्दै गएपछि यायोक्खालाई छाड्दै गएका छन् । अझै पनि आफ्नो वास्तविक इतिहास र पिता–पुर्खाबारे र जातीय स्वपहिचानबारे प्रस्ट नभएकाहरू; आफ्नो मातृभाषा, संस्कार, संस्कृति, वेशभूषा, चालचलन, रहनसहन, परम्परागत कानुन, हामी भन्ने भावना आदि थाहा नभएका वा मतलब नगर्नेहरू र राईको नाममा राजनीति गर्ने (भिड र संख्या देखाएर)हरूले भने अझै पनि यायोक्खा नामक एजीओको आधार लिएरै बसेका छन् । त्यस क्रममा कस्तो सम्म भएको छ भने, मकवानपुर जिल्लाका केही दनुवारहरूलाई धेरै अघि नै ‘देवास राई’ भनी राई जातिको भाषिक सम्बद्धता दिइएको छ । नुवाकोटका दनुवारहरूलाई पनि राईकै सम्बद्धता दिइएको छ । तर, अधिकारकर्मी ज्योती दनुवार र राजनीतिमा लागेका राजन डोनेका अनुसार ‘देवास’ भनेको दनुवारहरूको धामी–झाँक्रीले कुलपूजा गर्दा खेलाउने देउता (देउ–देवीको) नाम मात्रै हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

2 Comments

  1. https://shenasname.ir/ask/user/knotburma2

    August 1, 2026

    Good information. Lucky me I discovered your blog by accident (stumbleupon).
    I’ve saved as a favorite for later!

  2. spilleautomatspill.com

    August 12, 2026

    Tremendous things here. I’m very happy to see your post.
    Thank you a lot and I’m looking ahead to touch
    you. Will you kindly drop me a mail?

Leave a Reply

Your email address will not be published. Required fields are marked *