खुम्बु आइसफलमा हिमपहिरो खस्दा दुई आरोही घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा मंगलबार बिहान हिउँको ठूलो ढिस्को खस्दा दुई जना आरोही घाइते भएका छन् ।

पर्यटन विभागका अनुसार बिहान करिब ५ः४५ बजे आधार शिविरबाट पहिलो र दोस्रो शिविरतर्फ रोटेसनमा गइरहेका आरोही तथा शेर्पा गाइडहरू हिँड्ने मार्गमै हिमपहिरो खसेको हो ।

दुर्घटनामा संखुवासभा, मकालुका ४४ वर्षीय माउन्टेन गाइड पेम्बा तेण्डुक शेर्पा र भारत, पुणेका ४० वर्षीय आरोही निमिषकुमार सिंह घाइते भएका छन् ।

घटनालगत्तै पायोनियर एडभेन्चर प्रालि र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले तत्काल उद्धार गरी आधार शिविरमा खबर गरेका थिए । त्यसपछि सेभेन समिट ट्रेक प्रालिको समन्वयमा लुक्लाबाट हेलिकप्टर घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको थियो ।

घाइते दुवैलाई थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको छ।

खुम्बु आइसफल क्षेत्र सगरमाथा आरोहण मार्गको सबैभन्दा जोखिमपूर्ण खण्डमध्ये एक मानिन्छ, जहाँ हिमनदीको निरन्तर बहाव र सेराक खस्ने जोखिम सधैं रहने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *