सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा यस वर्ष मकै उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार चालु वर्ष कुल १३,८६९.५२ हेक्टर क्षेत्रमा मकै खेती गरिएको छ। गत वर्ष प्रति हेक्टर २.३८ मेट्रिक टन उत्पादकत्व रहेकोमा यस वर्ष बढेर २.४२ मेट्रिक टन पुगेको छ।
उत्पादन वृद्धि हुनुमा अनुकूल मौसम, सुधारिएको बिउको प्रयोग तथा स्थानीय तहहरूले सञ्चालन गरेका उन्नत बिउ वितरण, मल–सहायता, प्राविधिक परामर्श र बाली व्यवस्थापन तालिमजस्ता कृषि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको कृषि ज्ञान केन्द्रका वागवानी अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए ।
किसानहरूका अनुसार मकै जिल्लाको प्रमुख खाद्यान्न मात्र नभई पशुपालनका लागि पनि अत्यावश्यक भएकाले उत्पादन वृद्धि घरपरिवार तथा स्थानीय अर्थतन्त्र दुवैका लागि लाभदायक बनेको छ । आठ स्थानीय तह रहेको जिल्लामा अधिकांश क्षेत्रमा मकै मुख्य बाली भएकाले यस वर्ष देखिएको वृद्धि समग्र कृषि उत्पादन सूचकमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार आगामी वर्षहरूमा आधुनिक कृषि प्रविधिको विस्तार, उन्नत बिउको पहुँच, सिँचाइ तथा मल व्यवस्थापन प्रणाली सुधार गर्न सके मकै उत्पादन अझै बढाउने सम्भावना छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्