नेयमारलाई समेट्दै ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । ब्राजिलका फरवार्ड नेयमारलाई मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले विश्वकपका लागि २६ सदस्यीय टोलीमा समावेश गरेका छन् ।

३४ वर्षका नेयमार हाल ब्राजिलियन क्लब सान्तोसबाट खेल्छन् । उनी १ सय २८ खेलमा ७९ गोल गर्दै ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । तर चोटका कारण उनले सन् २०२३ यता ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिएनन् ।

यस पटक टोलीमा परेसँगै नेयमार चौथो पटक विश्वकप खेल्नेछन् । उनले यसअघि सन् २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि ब्राजिलका लागि खेलेका थिए ।

इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली घोषणा गरेका थिए । नेयमारको नाम घोषणा हुँदा समर्थकहरूले उत्साहका साथ स्वागत गरेका थिए ।

चोटका कारण लिभरपुलका पछिल्ला १० खेल गुमाएका गोलकिपर एलिसन बेकर पनि टोलीमा परेका छन् । त्यस्तै म्यानचेस्टर युनाइटेडका कासेमिरो र मथियस कुन्हा, न्युक्यासल युनाइटेडका ब्रुनो गुइमाराएस, आर्सनलका डिफेन्डर गाब्रियल, ब्रेन्टफोर्डका स्ट्राइकर इगोर थियागो तथा बोर्नमाउथका फरवार्ड रायन पनि टोलीमा समावेश छन् ।

तर चेल्सीका फरवार्ड जोआओ पेद्रो भने टोलीमा परेनन्। उनले यस सिजन प्रिमियर लिगमा १५ गोल र ५ असिस्ट गर्दै चेल्सीका शीर्ष गोलकर्ता बनेका थिए।

अन्य प्रमुख खेलाडीहरूमा रियल म्याड्रिडका भिनिसियस जुनियर, बार्सिलोनाका राफिन्हा तथा १९ वर्षका स्ट्राइकर एन्ड्रिक पनि टोलीमा छन्, जो हाल रियल म्याड्रिडबाट लोनमा लियोनमा खेलिरहेका छन् ।

पाँच पटकका विश्वकप विजेता ब्राजिलले समूह चरणमा जुन १३ मा मोरोक्को, जुन २० मा हैटी र चार दिनपछि स्कटल्याण्डसँग खेल्नेछ।

अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोली सहभागी विश्वकप जुन ११ देखि सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *