लिग २ मा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाँचौ स्थानमा उक्लियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इंग्लिसले अर्धशतक पूरा गरे ।

पराजित भएपछि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *