काठमाडौं । करिब पाँच वर्षअघि कोरोना महामारीको कठिन समयमा नेपाल सुपर लिग (एनएसएल) को सुरुआत भएको थियो।
प्रतियोगिताको पहिलो संस्करणमा सात टोली सहभागी भएका थिए । त्यसपको दुई वर्षपछि आयोजित दोस्रो संस्करणमा वीरगञ्ज युनाइटेड एफसी र स्पोर्ट्स इलाम डे मेची एफसी थपिएसँगै टोली संख्या नौ पुगेको थियो ।
तर, तेस्रो संस्करणमा यी दुई टोलीले सहभागिता जनाएनन् र प्रतियोगिता पुनः सात टोलीमै सीमित भएको थियो । अब भने आगामी सेप्टेम्बरको पहिलो सातादेखि सुरु हुने एनएसएलको चौथो संस्करणमा थप पाँच नयाँ टोलीलाई सम्म समावेश गरिने तयारी गरिएको छ।
एनएसएल स्रोतका अनुसार प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन टोली संख्या थपिन लागिएको हो। थपिने नयाँ टोलीहरूको औपचारिक घोषणा भने आइतबार गरिने बताइएको छ ।
‘आयोजक र क्लबबीच आम्दानी बाँडफाँटको नयाँ मोडालिटीसहित टोली संख्या थपिन लागिएको हो । कुन–कुन टोली थपिने भन्ने विषयमा आजै औपचारिक घोषणा हुनेछ। यसपटक प्रतियोगितामा १२ टोलीसम्म सहभागी गराउने तयारी गरिएको स्रोतले जनाएको छ ।
एनएसएलका हालसम्मका तीनै संस्करण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएका थिए। प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन बनेको थियो। त्यसयता ललितपुर सिटी एफसीले लगातार उपाधिमाथि कब्जा जमाउँदै आएको छ।
यसपटक भने एनएसएललाई ‘होम एन्ड अवे’ फर्म्याटमा सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्