काठमाण्डौँ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो ।
निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प छ ।
निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताए । दुई वटा बिलको करिब १० करोड रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताएका छन् ।
निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ । महानगरपालिकाले प्रदेश सरकारबाट आउनुपर्ने रकम आउन ढिलाइ हुँदा भुक्तानी दिन नसकेको जनाएको छ ।
रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ । ठेक्का सम्झौताको म्याद सकिन करिब ७ महिना मात्रै बाँकी रहँदा ५० प्रतिशतभन्दा केही बढी मात्रै भौतिक प्रगति भएको छ ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रविन क्षेत्रीका अनुसार पहिलो टावरको काम लगभग सकिएको छ । त्यसमा ट्रसका लागि वालको काम भैरहेको छ ।
यस्तै दोस्रो टावरको दुई तलाको ढलान सकेर तेस्रो तलाका लागि पिलर उठाउनको काम भैरहेको छ । प्याराफिट १ को सबै काम सकेर प्याराफिट २ मा ढलाइ सकिएको छ भने स्ल्याबको काम बाँकी छ ।
प्याराफिट ४ मा फर्मा ठोकेर डण्डी तयार गरी ढलानको तयारी गरिएको थियो । यस्तै विद्युत पावर केवलहरु भूमिगत गर्ने, भवन भित्र विद्युतको काम गर्ने, पानीको अण्डर ग्राउण्ड पाइपिङको काम अगाडि बढेको बेला काम रोकिएको हो ।
स्टेडियम बाहिर पहुँच सडक निर्माण तथा मैदानमा पानी जम्न नदिनका लागि जमिन भित्र पाइपहरु राखेर ड्रेनएजको काम अगाडि बढेको इन्जिनियर क्षेत्रीले बताए । मैदान तथा पिचका लागि आवश्यक सामग्रीहरु ल्याउने काम भैरहेका बेला काम रोकिन पुगेको उनले बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्