काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीहरूको मिहिनेत र समर्पणलाई राजनीतिक स्वार्थको साधन नबनाउन सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण अप्रिल १२ र १५ मा तय भएको फिफा सिरिजबाट नेपाली महिला टोली वञ्चित भएपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु खेलाडीका लागि पर्वसरह र सपनाको शिखर हुने उल्लेख गर्दै अन्तिम समयमा राजनीतिक खिचातानीका कारण अवसर गुमाउनु अत्यन्त पीडादायक हुने बताइन् । “खेलाडी मैदानमा उत्रिन नपाउँदा भोग्ने पीडा बाहिरबाट अनुमान गर्न सकिँदैन,” उनले लेखेकी छन् ।
सुब्बाका अनुसार वर्षौंको कडा मेहनत र त्याग राजनीतिक स्वार्थका कारण केही क्षणमै खेर जाने अवस्था सिर्जना भएको छ । उनले यस्तो प्रवृत्तिले नेपाली महिला फुटबल मात्र होइन, समग्र खेल क्षेत्रको भविष्य नै संकटमा परेको धारणा व्यक्त गरिन् ।
“खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस् । हामी देशका लागि खेल्न चाहन्छौं, कसैको अहंकारका लागि होइन,” भन्दै उनले खेललाई स्वच्छ र राजनीति मुक्त बनाउन आग्रह गरेकी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्