राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घुँडाको चोटपछि पुनः शल्यक्रियाको तयारीमा रहेकी छन् । पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।

भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा हालिएको ग्राफ्ट तथा एमसिएल दुवैमा गम्भीर चोट लागेको छ, जसका कारण जटिल पुनःशल्यक्रिया आवश्यक परेको छ । अघिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचार व्यवस्थापन सहज भएको भए पनि यसपटक वाचा गरिएको सहयोग नपाएको उनको गुनासो छ । एन्फा अध्यक्षले प्रशासनिक सहयोग सम्भव नभएको जनाउँदै पाँच लाख रुपैयाँसम्म नगद सहयोग गर्ने बताएको उनले उल्लेख गरेकी छन् ।

यसअघि उनको उपचार कतारस्थित एक अस्पतालमा गरिएको थियो। चोट गम्भीर रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा रहेको उनले बताएकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरे पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनाका लागि आवश्यक करिब ८० हजार अमेरिकी डलर खर्च अपुग हुने देखिएको छ ।

हाल न्युजिल्यान्ड र अष्ट्रेलियामा क्लब फुटबल खेल्दै आएकी भण्डारीले देशका लागि सधैं शतप्रतिशत दिएको र आगामी दिनमा पनि नेपालको जर्सी लगाएर फर्कने दृढता व्यक्त गरेकी छन् । उनले नेपाल तथा विदेशमा रहेका समर्थकलाई बैंक, क्यूआर कोड तथा अनलाइन लिंकमार्फत सहयोग गर्न आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *