काठमाण्डौँ । नेपाली महिला क्रिकेट टोलीले भारतमा तीन वटा घरेलु टोलीसँग मैत्रीपूर्ण टी–२० खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञप्ति जारी गर्दै महिला टोलीले आउँदो कात्तिक २७ गते बिहिवारदेखि मंसिर ३ गतेसम्म उत्तराखण्ड, बङ्गाल र राजस्थानसँग खेल्ने जनाएको छ ।
सबै खेलहरू देहरादुनको चिदरवालामा रहेको आयुष क्रिकेट एकेडेमीमा हुनेछ । तीन वटा टोलीसँग नेपालले समान दुई वटा खेल खेल्ने क्यानले जनाएको छ । नेपाली महिला टोलीले कात्तिक २७ गते राजस्थानसँग खेल्दै शुरुआत गर्नेछ ।
यस्तै कात्तिक २८ गते उत्तराखण्ड र २९ गते बङ्गालसँग खेल्नेछ । त्यसपछि पुनः मंसिर १ गते राजस्थान, २ गते उत्तराखण्ड र ३ गते बङ्गालसँग खेल्ने तालिका रहेको छ ।
यसैबीच, क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् भने सीमाना केसी पहिलो पटक टोलीमा परेकी छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्