नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा पुनः हरिहजुर थापा नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाण्डौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा पुनः हरिहजुर थापा नियुक्त भएका छन् । नेपालले आगामी कार्तिक ५ देखि ११ गते (अक्टोबर २२/२८) सम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिग २०२५ खेल्दै छ । यसै प्रतियोगिताका लागि संघले हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको हो ।

हरिहजुरले यसअघि पनि नेपाली सिनियर टोलीको कप्तानको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल भलिबल संघले आफ्नो ५८ औं केन्द्रीय कार्यसमिति बैठकमार्फत टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसमा उनलाई पुनः कप्तानको जिम्मेवारी सुम्पिएको जनाएको छ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो अर्थात् उद्घाटन खेलमा कार्तिक ५ गते (अक्टोबर २२) मा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सेन्ट्रल एसियाका नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र तुर्कमेनिस्तान गरि ६ राष्ट्रले सिंगल राउण्ड रोविनका आधमरमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । जसका लागि १४ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।

नेपाली टोलीमा हरिहजुर थापा (कप्तान), धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी वस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज वस्नेत, सुजन सुनार र सन्तोष राई छन् ।

यस्तै मुख्य प्रशिक्षकमा भरत यादव, सहायक प्रशिक्षकमा उत्सव खड्का र व्यवस्थापकमा प्रविन श्रेष्ठ छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *