काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर–गोठमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शनिबार राति करिब ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका–८ कोठ्याराका नरे रावल तथा वडा नम्बर ९ का करे थापा र दीपक विकको घरमा क्षति पुगेको हो ।
त्यस्तै, बडीमालिका–९ का मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारको गोठमा समेत पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण घर तथा गोठमा रहेका खाद्यान्न, लत्ताकपडा र पशुचौपायमा समेत क्षति पुगेको छ । हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
अविरल वर्षाका कारण बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा पहिरो खस्नुका साथै साँफे–मार्तडी सडकखण्डसमेत अवरुद्ध भएको छ । प्रहरीले लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्