तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विकासलाई केवल सरकारी जिम्मेवारी ठानेर बस्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन्। व्यास नगरपालिका–१ रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा बोल्दै उनले स्थानीय स्तरबाट हुने सक्रियता नै दिगो विकासको आधार भएको बताए।
उनका अनुसार धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रतौली क्षेत्र विकास गर्न स्थानीयवासीले देखाएको पहल अनुकरणीय छ। “सबै कुरा सरकारले मात्रै गर्न सक्दैन, आफ्नो क्षेत्रका लागि नागरिक आफैँ जुट्नुपर्छ,” वाग्लेले भने।
हालै प्रदर्शनमा आएको ‘जेनजी’ ले देखाएका राजनीतिक विकृतिबारे पनि उनले टिप्पणी गर्दै अब राजनीतिमा देखिएका गलत प्रवृत्तिहरू सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याए। प्रतिनिधिसभामा समेत यसबारे आफ्नो पार्टीले निरन्तर ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ थियो।
त्यस्तै, युवा विदेश पलायन रोक्न स्वदेशमै अवसर र रोजगार वातावरण बनाउन सरकारले तदारुकता देखाउनुपर्नेमा उनले जोड दिए।
महायज्ञ मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतका अनुसार धर्मशाला, होम कुण्ड र शिवलिङ्ग कुण्ड निर्माण उद्देश्यसहित मंसिर ६ देखि १३ गतेसम्म ज्ञानमहायज्ञ आयोजना गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्