रास्वपाको पहल: भट्टराई र शर्मासँग चुनावी सहकार्यको खोजी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

कात्तिक १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीले डा. बाबुराम भट्टराई र जनार्दन शर्मासहितका नेताहरूसँग सहकार्यबारे छलफल अघि बढाएको बताएका छन्।

सौराहामा शुक्रबारदेखि सुरु हुने विस्तारित केन्द्रीय समिति बैठकका लागि चितवन पुगेका झाले बिहीबार बिहान भएको बैठकमा आगामी निर्वाचन र सुशासनका लागि सम्भावित गठबन्धनका विभिन्न विकल्पमाथि चर्चा भएको बताए।

उनका अनुसार, सँगै चुनावी तालमेल गर्ने, एक अर्कालाई सहयोग गर्ने वा प्रतिस्पर्धामा नउत्रिनेजस्ता विकल्पमा विचार भइरहेको छ। साथै, साझा नेतृत्व वा परिषद् गठनको सम्भावनाबारे पनि कुरा उठेको उनले जनाए।

‘सबै पक्षबाट लचकता देखाइएको छ तर सिद्धान्त नटुट्ने गरी मात्रै,’ उनले भने, ‘नयाँ राजनीतिक संस्कार र सुशासनका एजेन्डामा आधारित एकता सम्भव छ।’

झाले रास्वपाले सबै राजनीतिक सम्भावनालाई खुला राखेको बताउँदै भट्टराई र शर्मासँगको सहकार्य वा उनीहरूको रास्वपामै प्रवेशको सम्भावना समाप्त नभएको स्पष्ट पारे।

सौराहामा दुई दिनसम्म चल्ने बैठकमा देशभरबाट आएका ५१२ प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकले आगामी निर्वाचनका लागि पार्टीको नीति, सम्भावित गठबन्धन र नेतृत्व संरचनाबारे दिशा तय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *