फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सभा बैठकमा प्रवेश गर्न रोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १३

पोखरा : गण्डकी प्रेदश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ। संसदमा बजेटमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन्। संसद बैठकमा सहभागी हुन बिहीबार प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा प्रदेश सभा गए।

संसद बैठक सुरू हुनुअघि नै पुगेका देवकोटाले सभामुख कृष्णप्रसाद धिताललाई भेटेका थिए। सर्वोच्च अदालतले सोमबार दिएको अन्तरिम आदेशअनुसार आफू संसद बैठकमा भाग लिन आएको देवकोटाले जानकारी गराएका थिए।

नेकपा (माओवादी केन्द्र) ले गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै देवकोटालाई कारबाही गरेको थियो। यसकाविरुद्ध अदालत पुगेका देवकोटालाई सांसदका रुपमा काम गर्न दिन सर्वोच्चले सोमबार अन्तरिम आदेश दिएको थियो।

‘मैले सर्वोच्च अदालतको आदेशअनुसार संसदमा भाग लिन आएको छु भनेर सभामुखलाई जानकारी गराएका थिए,’ देवकोटाले भने, ‘सभामुखले म सल्लाह गर्दैछु मात्र भन्नुभयो। संसद बैठकका लागि जनाउ घन्टी बज्यो। अरू सांसदहरू बैठक कक्षतिर जानुभयो। म पनि भित्र जान लाग्दा मर्यादापालकबाट रोकियो।’ उनले भित्र प्रदेश सभा बैठक चलिरहेको र आफू बाहिरै रहेको बताए।

सर्वोच्चको अन्तरिम आदेशमा देवकोटा नेपाल समाजवादी पार्टीको सांसद रहेको र उक्त पार्टीका सांसदलाई माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने उल्लेख छ। सर्वोच्चबाट आएको अन्तरिम आदेश बुधबार नै प्रदेश सभा सचिवालयमा पुगिसकेको थियो। संसद बैठकमा भाग लिन आएको देवकोटाले जानकारी गराएपछि सभामुख धितालले आफू सल्लाह गरिरहेको जबाफ दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *