कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

facebook sharing button

twitter sharing button

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ ।गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ ।नरहरीनाथ गाउँपालिकाको चारवटा वडाका पाँच सय ३८ बालबालिकाको कुपोषण जाँच गरिएको थियो । त्यसमध्ये ४१ जनामा मध्यम खालको कुपोषण र छ जनामा कडा खालको कुपोषण देखा परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले जानकारी दिए  ।“अस्पतालमा आएर जाँच गरि कुपोषण देखा परेका बालबालिकाको अभिभावक फेरि बच्चा लिएर नियमित अस्पताल आउन मान्दैनन्”, उनिले भने , “स्याहार सुसार र आहार नपाएरै कुपोषण देखा पर्ने गरेको छ । ग्रामीण भेगमा बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा वनपाखा गर्नुपर्ने हुन्छ । उनीहरुको रेखदेख र स्याहार नहुँदा कुपोषण लाग्ने गरेको पाइएको छ ।”कुपोषण भेटिएका वडामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पाँच वर्ष मुनिका बालबालिकाका बाबुआमालाई कक्षा सञ्चालन गरिएको छ ।  गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुषोषणमा कमी ल्याउने काम गरिरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।“कुषोषण न्यूनीकरण गर्न गाउँसभाले बजेट व्यवस्थापनको  तयारी गरेको छ”, उहाँले भन्नुभयो, “पोषणमैत्री पालिका निर्माणका लागि गाउँपालिकाले अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न तयार छ ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *