×

के–के छन् राष्ट्रपतिले ७ वर्षमा देखेका मूल विषय ?

माघ २७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

७ वर्ष लामो कार्यकाल सकेर शीतल निवास छाड्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिन् ।

२९ फागुन २०७२ मा राष्ट्रपति चुनिएकी भण्डारीको संघीय संसदलाई राष्ट्रपतिको रुपमा यो नै अन्तिम सम्बोधन हो । किनकी नयाँ राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तय भइसकेको छ । र, संविधानले राष्ट्रपतिमा दुई कार्यकालको सीमा राखेका कारण भण्डारी फेरि दोहोरिन सम्भव छैन ।

५० मिनेट लामो सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषयका रुपमा राजनीति बाहेक सबैलाई उठाएकी छन् । र, सरकारले आगामी दिनमा नीति तथा कार्यक्रममा समेट्दै आवश्यकताअनुसार बजेट पनि व्यवस्थापन गर्ने विश्वास व्यक्त गरिन् ।

नेपाल र नेपालीको विकासका लागि कार्यकाल सफल होस् भनेर सांसदहरुलाई शुभकामना दिँदै सम्बोधन गरेकी उनले संघ तथा प्रदेश सरकारहरूले जनताका आशा र भरोसालाई कुण्ठित हुन नदिने गरी काम गर्ने विश्वास व्यक्त गरिन् ।

सरकारको नीति तथा कार्यक्रमप्रति चासो

राष्ट्रपति भण्डारीको ‘विशेष सम्बोधन’ले सरकारको नीति तथा कार्यक्रमकै झल्को दिन्थ्यो । विभिन्न समस्यालाई औंल्याएकी उनले त्यसलाई समाधान गर्ने गरी आगामी नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव समेत दिएकी छन् ।

देशको आर्थिक अवस्था जटिल मोडमा रहेको भन्दै उनले ध्यानाकर्षण गराएकी छन् । अर्थतन्त्रका सूचकहरूमा पछिल्लो समय केही सकारात्मक संकेत देखापरेको भए तापनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नभएको बताइन् । बजारमा देखिएको मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोतको अभाव र बाह्य कारणले उत्पादन क्षेत्र कमजोर बन्दै गएको भन्दै उनले भनेकी छन्, ‘कमजोर आर्थिक वृद्धिदर, बढ्दो दरको मुद्रास्फीति र विकराल बन्दै गएको अन्तर्राष्ट्रिय व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने प्रमुख पक्ष उत्पादन क्षेत्र यसरी कमजोर भएकोप्रति हामी सबै गम्भीर बन्नुपर्दछ ।’

विगत केही वर्षदेखि विनियोजित बजेट पूर्ण रूपमा खर्च नभइरहेकोमा उनको चिन्ता छ । ‘एकातिर पूँजी निर्माणका लागि बजेट कम विनियोजन हुने र अर्कातिर भएको पूँजीगत बजेट पनि कम मात्र खर्च हुँदा पूँजी निर्माण कमजोर हुने मात्र नभई यसबाट विस्तार हुने अन्य आर्थिक क्रियाकलापमा सुस्तपना आई सरकारी राजस्व समेत घटिरहेको अवस्था छ’, राष्ट्रपति भण्डारीको चिन्ता छ ।

अघिल्लो वर्षभन्दा पछिल्लो वर्ष कम राजस्व संकलन हुनु सुखद् सकेत नरहेको भन्दै उनले भनिन्, ‘अर्थतन्त्रमा बाह्य क्षेत्रको चाप अझै पनि प्रष्ट देख्न सकिन्छ ।’ अर्थतन्त्रमा सुधारका उपाएहरु सुझाएकी छन्, ‘व्यापार घाटा कम गर्न निजी क्षेत्रसँग सहकार्य गरी निर्यात वृद्धिका उपाय खोज्नुपर्ने देख्दछु । अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादनको क्षेत्र सबल बन्नुपर्दछ भन्ने मेरो मान्यता हो ।’

रासायनिक मलको नियमित आपूर्ति, कृषि उत्पादनका साधनको व्यवस्थापन जस्ता विषय पनि उठाएकी छन् । ‘एक गाउँ, एक उत्पादन वा एक पालिका, एक उत्पादन’ जस्ता कार्यक्रमलाई पुनःपरिभाषित गरी उस्तै वस्तु उत्पादन हुने १० पालिकामा एकै किसिमको उत्पादन गर्न सकिए उत्पादन वृद्धिका लागि सहयोग पुग्ने उनले बताइन् । उनले अघि भनिन्, ‘अबको २ वर्ष वा ५ वर्षमा निश्चित खाद्यवस्तुमा आत्मनिर्भर भई बचत हुन जाने उत्पादन निर्यात समेत गर्न सक्षम हुने गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक देखिएको छ ।’ औद्योगिक उत्पादनमा नयाँ क्षेत्रको खोजी गर्नुपर्नेमा जोड दिएकी राष्ट्रपति भण्डारीले भनिन्, ‘सामुहिक खेती वा करार खेतीको अवधारणा व्यवहारमा लागु गर्न धेरै ढिलो भइसक्यो भन्ने मेरो बुझाइ हो ।’

आम गरिबी न्यून गर्न उद्योग क्षेत्रको रोजगारीले सबैभन्दा बढी भूमिका निर्वाह गर्ने उनको निष्कर्ष छ । उद्योगको विकास भएपछि त्यसले सिर्जना गर्ने रोजगारी, अग्र र पृष्ठसम्बन्ध भएका क्षेत्रको विकासबाट पर्ने सकारात्मक प्रभावलाई आँकलन गरी वृहत्तर सोचका साथ अघि बढ्नु उपयुक्त हुने उनको बताइन् । स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उनको जोड छ ।

पर्यटन क्षेत्रमा ३ काम गर्न सुझाव

पर्यटन क्षेत्रमा सरकारलाई तीन काम गर्न सुझाएकी छन् ।

एक– पर्यटकीय वस्तुको विकास, पर्यटनस्थलको पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र पूर्वाधारको गुणस्तर र नियमन ।

दुई– राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बजारीकरण ।

र, तीन– सहज पहुँचको व्यवस्था । यस बाहेकका निजी क्षेत्रलाई नै छाडिदिनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिएकी छन् ।

सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाउन नसकिएमा मुलुकमा सुशासन छ भनेर दाबी गर्नु निरर्थक हुने उनले बताएकी छन् । सम्बोधनका क्रममा उनले सूचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र पहुँच वृद्धिमा ध्यान दिन सरकारलाई सुझाएकी छन् । महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिकको सुरक्षा, सामाजिक मान्यता र पारिवारिक सौहार्द्रता कायम गर्नुपर्नेमा उनको जोड छ ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षामासम्झौता नगरी अरु देशसँग मित्रता कायम गर्नुपर्नेमा उनले जोड दिएकी छन् । नेपालले सदैव असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको भन्दै उनले भनेकी छन्, ‘हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरूरी छैन ।’

वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नुपर्ने उनको जोड छ । साथै जलवायु अनुकूलन र असर न्यूनीकरणका लागि स्थापित अन्तर्राष्ट्रिय वित्तीय तथा प्राविधिक संयन्त्रबाट अधिकतम स्रोत र सहयोग परिचालन गर्न नेपाल सरकार विश्वसामू दरिलो रूपमा प्रस्तुत हुनुपर्ने समेत राष्ट्रपति भण्डारीको जोड छ ।

विषयकेन्द्रित सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले धेरै पटक ‘मलाई विश्वास छ, सरकारले आगामी दिनमा यसअनुसार नै आफ्ना नीति तथा कार्यक्रम तय गर्नेछ’ भनेकी छन् ।

आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषय संसदमा राखेको भन्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा यी सबैलाई समेट्दै सोका आधारमा बजेटमा आवश्यक स्रोत व्यवस्थापन गर्ने नै छ ।’

सम्बोधनको पूर्ण पाठ पढ्नुहोस् :

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: