विद्युतीय सवारीलाई ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बन्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ भाद्र १५

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगबाट करिब ३८ करोड रुपैयाँ लागतमा यी संरचना निर्माण भइरहेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा बनाइएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिन् । आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढावा दिनु अहिलेको आवश्यकता रहेको र त्यसका लागि चार्जिङ स्टेसन स्थापना महत्त्वपूर्ण कदम रहेको मन्त्री भुसालको भनाइ छ । ‘आफ्नै स्रोत पानीबाट उत्पादित विद्युत्को प्रयोगले पेट्रोलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ । यसले व्यापार घाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ,’ उनले भनिन् ।

विगतमा लोडसेडिङका बेला विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दै आन्तरिक रूपमा विद्युत् खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए । ‘विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियत दरको महसुल तोकिएको छ । तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ,’ घिसिङले भने, ‘हामी यसको अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकाले भाडामा सहुलियत दिन आग्रह गर्दछु ।’

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहर पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन छिटो चार्ज गर्न मिल्ने स्टेसन बनाइरहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा सानाठूला कार चार्ज गर्न मिल्नेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । चार्ज गर्दा कारहरूमा प्रतिकिमि खर्च औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसमा १ रुपैयाँ २० पैसा लाग्नेछ । नेपालमा उपलब्ध सवारीसाधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

आन्तरिक रूपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि प्राधिकरणले चार्जिङ स्टेसन बनाइरहेको छ । हरेक चार्जिङ स्टेसनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जोडिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिनेछ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनको वानबाङ डिजिटल इनर्जी कम्पनी लिमिटेडसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

कुन–कुन ठाउँमा बन्दै छन् ?

झापाको बिर्तामोड बसपार्कमा २ र दमक चार्जिङ केन्द्रमा थप २ गरी ४ वटा चार्जिङ स्टेसन बनाइनेछ । मोरङको विराटनगर बसपार्क र सुनसरीको इनरुवा बसपार्कमा पनि चार्जिङ स्टेसन राखिनेछ । उदयपुरको बेलका, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्म, इलाका प्रहरी कार्यालय निजगढ र मकवानपुरमा दुई–दुईवटा चार्जिङ स्टेसन राखिनेछन् । चितवनको पारस बसपार्कमा दुई र मुग्लिङ पुलमा एउटा चार्जिङ स्टेसन राखिनेछ । सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर र धादिङको इलाका प्रहरी कार्यालयमा पनि चार्जिङ स्टेसन बनिरहेका छन् ।

काठमाडौं उपत्यकाभित्र साझा सेवा बल्खुमा दुई, ललितपुरको साझा यातायातमा दुई, नेपाल पुलिस क्लबमा एउटा र नेपाल विद्युत् प्राधिकरणमा एउटा चार्जिङ स्टेसन रहनेछन् । काभ्रेको बनेपामा रहेको साझा सेवामा पनि दुई चार्जिङ स्टेसन बन्नेछन् । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नवलपरासीको बर्दघाटस्थित इलाका प्रहरी कार्यालय र कपिलवस्तुको गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयमा पनि दुई–दुईवटा चार्जिङ स्टेसन राख्ने तयारी छ । दाङको लमही बसपार्क, बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुल र सुर्खेतको नयाँ बसपार्कमा पनि दुई–दुई चार्जिङ स्टेसन राखिनेछ । रूपन्देहीको भैरहवा बसपार्क र कैलालीको सशस्त्र प्रहरी बल बैजनाथ वाहिनीमा चार्जिङ स्टेसन राखिनेछ । पोखराको पर्यटक बसपार्क र लेकसाइडमा पनि चार्जिङ स्टेसन बनाइँदै छ । नुवाकोटको बसपार्कमा एउटा र हावा घरमा अर्को चार्जिङ स्टेसन बन्नेछ । सिन्धुलीको सिन्धुलीगढी बसपार्क र खुर्कोट रिसोर्ट सेन्टर, महोत्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र कञ्चनपुरको शैलेश्वरीस्थित सशस्त्र प्रहरी बलमा पनि चार्जिङ स्टेसन बन्दै छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *