नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्।
बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनलाई कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए।
पदभार ग्रहण गर्दै उनले फिल्म क्षेत्रका समस्याहरू पहिल्याएर समाधान गर्ने बताए।
‘नेपाल सरकारले मलाई फिल्म क्षेत्रको समस्याहरू समाधान गर्ने अवसर दिएको छ। मेरो काँधमा ठूलो जिम्मेवारी थपिएको छ। ४० वर्षदेखि मैले फिल्म क्षेत्रमा निरन्तरता दिइरहेको छु। अभिनेता, निर्माता तथा निर्देशकको हिसाबले मैले आफै पनि धेरै समस्या भोग्दै आएको छु। ती समस्याहरूको समाधान गर्न म विकास बोर्डमा आएको हुँ। मेरो तर्फबाट सक्दो प्रयास गरेर अगाडि बढ्नेछु,’ उनले भने।
उनी चलचित्र विकास बाेर्डकाे अध्यक्ष बन्न कांग्रेस पार्टीमा प्रवेश गरेकाे चर्चा छ।
यसबारे उनले प्रष्ट्याउदै भने, ‘म आफ्नो तन, मन, वचनले पूर्ण रुपमा फिल्म क्षेत्रमै आवद्ध छु। कुनै पार्टीमा मात्र नभई जहाँ गए पनि म फिल्म क्षेत्रको विकासको लागि जान्छु। फिल्म क्षेत्र, कलाकार साथी, प्राविधिक साथी, मेरो देशको भाषा संस्कृति बोकेको फिल्मको लागि राम्रो हुन्छ भने म जहाँ जान पनि तयार छु।’
हालै बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
गत वैशाखमा केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई बालुवाटारमा बोलाएर पार्टी प्रवेश गराएका थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्