डडेलधुरामा देउवाप्रति सहानुभूति, चुनावी मैदानमा ‘अनुपस्थित’ नेताकै चर्चा बढी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा डडेलधुरामा भने उम्मेदवारभन्दा सक्रिय राजनीतिबाट बाहिरिएका शेरबहादुर देउवाप्रतिको चासो बढी देखिएको छ।

विशेष महाधिवेशनमार्फत पदमुक्त भएका देउवाको ‘अस्वाभाविक बहिर्गमन’ भएको ठान्ने मतदातामा अझै सहानुभूति रहेको पाइन्छ।

नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले देउवाको अभाव खट्किएको बताउँदै मतदाताले उनलाई अझै खोजिरहेको दाबी गरे। उनले देउवालाई ‘राष्ट्रवादी नेता’को रूपमा चित्रित गर्दै आफूले उनका अधुरा विकास योजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

नेकपा उम्मेदवार मान सिंह मालले पनि देउवामाथि भएको व्यवहारप्रति सहानुभूति व्यक्त गर्दै पाँच पटक प्रधानमन्त्री बन्नु डडेलधुराका लागि गौरवको विषय भएको बताए। देउवा उम्मेदवार भएको भए प्रतिस्पर्धा एकतर्फी हुन सक्ने उनको भनाइ छ।

यसैबीच एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले देउवाको अनुपस्थितिलाई विकल्प खोज्ने अवसरका रूपमा लिएका छन्। तर स्थानीय मतदातामाझ भने देउवाको राजनीतिक योगदान र व्यक्तित्वकै चर्चा अझै प्रमुख विषय बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *