काठमाण्डौँ । निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ । संघीय सरकार मातहत रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग ले विशेष सुरक्षा योजना लागू गरिएको दाबी गरिरहेका छन् । तर पछिल्ला घटनाक्रमले ती प्रयास प्रभावकारी देखिएका छैनन् ।
रौतहटको गौर र वीरगञ्जमा भएका साम्प्रदायिक झडप, मलंगवामा सब–इन्जिनियर प्रमोद यादवको हत्या, रौतहटमै एक महिलाको हत्या तथा सिरहामा दिनदहाडै गोलीकाण्डजस्ता घटनाले सुरक्षा संयन्त्रको सतर्कतामाथि प्रश्न उठाएको छ।
निर्वाचन मिति घोषणा भएयता चालु आर्थिक वर्षको पहिलो ६ महिनामै मधेशमा ५६ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ। त्यस्तै ३४३ चोरीका मुद्दा दर्ता हुँदा १९८ अभियुक्त अझै फरार छन्। खुला सिमाना र कमजोर निगरानीका कारण अपराधीहरू भारततर्फ भाग्ने गरेको प्रहरी विश्लेषण छ।
सुरक्षा निकायबीच समन्वय, पूर्वसूचना संकलन र प्रभावकारी कार्यान्वयन कमजोर देखिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। निर्वाचनको मुखमा मधेशमा शान्ति र भयमुक्त वातावरण कायम राख्न सुरक्षा संयन्त्रले थप कडाइ, सक्रियता र रणनीतिक सुधार आवश्यक रहेको देखिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्