मधेस प्रदेशमा नयाँ सरकार गठनसँगै तीन जना मन्त्री नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

मधेस प्रदेश । नयाँ सरकार गठनसँगै तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रिपरिषद् गठनपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्। शपथ समारोह बर्दिबास र सिन्धुलीको सीमास्थित एक होटलमा गरिएको थियो।

भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनी आइतबार राति नै मुख्यमन्त्री नियुक्त भएपछि सोमबार बिहान काठमाडौं प्रस्थान गरेकी हुन्।

पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले सामाजिक सञ्जालमार्फत शपथ समारोहको भिडियो साझा गर्दै प्रदेश प्रमुखको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। उनले लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सीमास्थित होटेलमा प्रदेशको अस्मितामाथि प्रहार गरिन्।”

मधेस प्रदेश सभामा नेकपा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल हो। हाल सभामुखमा रामचन्द्र मण्डल रहेका छन् भने धनुषाका दीपेन्द्र ठाकुर भ्रष्टाचार आरोपमा निलम्बनमा छन्।

यससँगै मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ र प्रदेश प्रमुखको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चर्को बहस सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *