ताप्लेजुङमा बुथ कब्जाको रास्वपाको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले मिरिङदेन गाउँपालिका–४ लिङ्तेपको मतदान केन्द्रमा बुथ कब्जा गरी अस्वाभाविक मतदान गराइएको आरोप लगाएको छ। रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै उक्त केन्द्रमा धाँधली भएको दाबी गरेका छन् ।

उनका अनुसार देशभर औसत करिब ५१ प्रतिशत मतदान भइरहेको अवस्थामा लिङ्तेपमा ८८ प्रतिशत मत खस्नु शंकास्पद देखिएको छ। मृतक तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नाममा समेत फर्जी मतदान भएको र करिब ३७ प्रतिशत मत शंकास्पद रहेको रास्वपाले जनाएको छ ।

रास्वपाले मतदाता नामावली र मतपत्रको अर्धकट्टी मिलान गरी छानबिन गर्न माग गर्दै सत्यतथ्य नआएसम्म मतगणनामा सहभागी नहुने चेतावनी दिएको छ। निर्वाचनअघि नै सम्भावित बुथ कब्जाबारे जानकारी गराए पनि बेवास्ता गरिएको भन्दै पार्टीले असन्तुष्टि व्यक्त गरेको छ।

यसैबीच, निर्वाचन कार्यालयले भने मतगणना सुरु गरिसकेको छ । प्रारम्भिक परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री अग्रस्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *