भोजपुरको दिङ्लामा एमाले कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि तनाव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । निर्वाचनको मौन अवधि अर्थात् मतदानको पूर्वसन्ध्यामा भोजपुरको षडानन्द नगरपालिकास्थित दिङ्ला बजारमा नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थिति तनावग्रस्त बनेको छ । अन्य राजनीतिक दलका कार्यकर्ताहरूले एमालेले भोट किन्नका लागि पैसा बाँडेको दाबी गर्दै नाराबाजी गरेपछि प्रहरीले उक्त कार्यालयमा छापा मारेको थियो ।

सार्वजनिक भएको एक भिडियोमा दिङ्ला बजारमा रहेको एमालेको सम्पर्क कार्यालय बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी र स्थानीयको भिड देखिन्छ । भिडियोमा एक व्यक्तिले भनेका छन्, ‘ल हेर्नुस् दिङ्लाको ताजा अवस्था, यहाँ चाहिँ खुसु–खुसु दिङ्ला बजारमै मान्छे बोलाउँदै पैसामा भोट किन्ने अवस्था हुँदा यहाँ स्थानीय जनताहरूले यो गलत भो भन्दै हुनुहुन्छ ।’ उनले थप भनेका छन्, ‘निर्वाचनको बेला पैसा दिँदै एकजनालाई सुटुक्क माथिबाट लैजाँदै, सम्पर्क कार्यालयमा पैसा दिँदै पठाउने गरेपछि यहाँ आन्दोलन भइरहेको छ । दिउँसैदेखि एक–एक जनालाई पसाउँदै पैसा दिँदै पठाएको प्रमाण छ भन्ने कुरा यहाँ आएको छ ।’

उक्त घटनापछि स्थानीय प्रशासन र प्रहरीले तत्कालै सक्रियता देखाएको थियो । भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाले घटनाको सत्यतथ्यबारे जानकारी दिँदै बाहिर चर्चा भएजस्तो पैसा फेला नपरेको स्पष्ट पारेका छन् ।

डीएसपी लामाका अनुसार अन्य दलका प्रतिनिधिहरूले ठुलो रकम भएको दाबी गरेपछि प्रहरी टोलीले एमालेको कार्यालयमा खानतलासी गरेको थियो ।

प्रहरीले घटनालाई सामान्य विवादको रूपमा व्याख्या गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *