काठमाण्डौँ । यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले घरदैलो तथा चुनाव प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन रहेको छ । उम्मेदवारहरूले आज पनि बिहानैदेखि मतदाता भेटघाट तथा गाउँ टोल घुम्ने कार्यक्रम गरिरहेका छन् ।
यसपटकको चुनावको इपिसेन्टर बनेको झापा– ५ मा भावी प्रधानमन्त्रीका प्रस्तावित दुई उम्मेदवार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज अन्तिम घरदैलो गर्दै छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज झापा– ५ को चारवटै पालिकामा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।
ओलीले बिहान साढे ११ बजे दमक नगरपालिका– ४ मा श्रमिकहरूसँग भेटघाट गर्दै आजको घरदैलो सुरु गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो १ बजे गौरादह नगरपालिका– ७ स्थित खावाघाट, २ बजेपछि गौरीगञ्ज गाउँपालिका– ३ को रिमाल टोल, गौरीगञ्ज– ६ स्थित आत्माओझा, बेलुका ४ बजेतिर कमल गाउँपालिका– ४ स्थित लिम्बू गाउँलगायतका स्थानमा घरदैलो गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
त्यस्तै, बालेन शाहको आजको घरदैलो झापा– ५ को दमक नगरपालिकाभित्र रहेको छ । बिहान ११ बजेदेखि दमकको गोर्खा डिपार्टमेन्टअगाडि भेला भएर सुरु हुने बालेन शाहको घरदैलो दमकको जेसीज चोक, इलाका प्रहरी कार्यालय, लेखनाथ चोक, सिरपाली चोक, आँखा शिविर, दुर्गा मन्दिर, बेलडाँगी, बाघखोर, आमचोक, मिलडाँगा, नयाँ आम्दा, संगम चोक, कृष्ण मन्दिर, उदय टोल, टुक्रे, इन्द्रेणी ताल, संगम चोक, सगरमाथा चोक, पखटे, शान्तिमार्ग रोड, अमरचोक, बालुवाटार, किराँत चोकबाट दमकको मुख्य चोक गणतन्त्र चोक हुँदै पसुहाटमा पुगेर समापन हुने झापा– ५ रास्वपा निर्वाचन परिचालन समिति संयोजक भेषराज भट्टराईले जानकारी दिएका छन् ।
यस्तै, झापा– ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङले पनि आज अन्तिम घरदैलो गर्दै छन् । उनले पनि आजको घरदैलो कार्यक्रमलाई दमक बजारकेन्द्रित बनाएका छन् । तामाङको घरदैलो बिहान ११ बजे दमक चोकस्थित आकाशे पुलबाट सुरु हुने बताइएको छ । त्यहाँबाट सुरु भएको घरदैलो दमक– १ को हवल्दार चोक, दमक– २ को बेलडाँगी, दमक– ३ को गोलाटार, ताराबारी, दमक– ४ को कृष्ण मन्दिर, दमक– ३ को ढुकुरपानी चोकसम्म पुगेर समापन हुने जनाइएको छ । यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलालगायत पार्टीका उम्मेदवारले पनि आज अन्तिम दिन घरदैलो कार्यक्रमलाई तीव्रता दिने बताइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्