सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा आगामी निर्वाचनका लागि कुल मतदाता संख्या ८५ हजार ५१५ पुगेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतदाता नामावली अनुसार जिल्लाका आठवटै स्थानीय तहमा मतदाता विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिपेन्द्र राज अधिकारीका अनुसार कुल मतदातामध्ये ४४ हजार ४८३ पुरुष र ४१ हजार ३२ महिला रहेका छन्। पुरुषको तुलनामा महिला मतदाताको संख्या केही कम देखिए पनि महिला सहभागिता उल्लेखनीय रहेको कार्यालयले जनाएको छ।
- सोलुदुधकुण्ड नगरपालिका – २०,७६०
- थुलुङ दुधकोशी गाउँपालिका – १५,९९८
- माप्यदुधकोशी गाउँपालिका – १०,९४३
- नेचासल्यान गाउँपालिका – १०,९३५
- महाकुलुङ गाउँपालिका – ८,१८९
- सोताङ गाउँपालिका – ७,२९५
- खुम्बु पासाङ ल्हामु गाउँपालिका – ६,१३३
- लिखुपिके गाउँपालिका – ५,२६२
जिल्लाको सदरमुकामसमेत रहेको सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढी २० हजार ७६० मतदाता दर्ता भएका छन्। त्यसपछि थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार ९९८ मतदाता रहेका छन्। खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिकामा भने मतदाता संख्या तुलनात्मक रूपमा कम देखिएको छ।
भौगोलिक विकटता, जनसंख्याको न्यून घनत्व तथा काठमाडौँलगायत शहरी क्षेत्रतर्फ बढ्दो बसाइँसराइका कारण ग्रामीण पालिकामा मतदाता संख्या स्थिर वा घट्दो रहेको सरोकारवालाहरूको भनाइ छ। साथै, युवापुस्ताको वैदेशिक रोजगारी र अध्ययनका लागि बाहिरिने प्रवृत्तिले पनि मतदाता संरचनामा प्रत्यक्ष प्रभाव पारेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
मतदाता विवरण सार्वजनिक भएसँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा राजनीतिक सरगर्मी बढ्न थालेको छ। प्रमुख राजनीतिक दलसहित नयाँ तथा पुराना दलहरू संगठन विस्तार र मतदाता केन्द्रित अभियानमा सक्रिय देखिएका छन्।
जिल्लामा महिला मतदाता संख्या कुल मतदाताको करिब ४८ प्रतिशत पुगेको छ। यसले स्थानीय तहदेखि संघीय राजनीतिसम्म महिला सहभागिता विस्तार हुँदै गएको सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्