काठमाडौं – बाल क्रिकेटको प्रवर्द्धन र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ राइजिङ स्टार यु–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता माघ १ गतेदेखि २८ गतेसम्म काठमाडौंको सिफल खेलमैदानमा सञ्चालन हुनेछ।
राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने यस प्रतियोगितामा कुल २७ टोलीले सहभागिता जनाउनेछन्। सहभागी टोलीमध्ये ८ वटा काठमाडौं उपत्यका बाहिरका रहनेछन् भने बाँकी टोली उपत्यकाभित्रका हुने आयोजकले जानकारी दिएको छ। जिल्ला स्तरका खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।
आयोजक एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले पत्रकार सम्मेलनमार्फत उमेर समूहका प्रतियोगितामार्फत नेपाललाई भविष्यमा टेस्ट क्रिकेट राष्ट्र बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए। यस्ता प्रतियोगिताले आधारभूत तहबाटै सक्षम क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
प्रतियोगितालाई अनुपम फुडल्याण्डले मुख्य प्रायोजन गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक मधु पन्थीले बाल तथा उमेर समूह क्रिकेटको विकासमा सहयोग गर्ने उद्देश्यले प्रायोजन गरिएको बताए। प्रतियोगिताका प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले खेलको प्राविधिक संरचना र सञ्चालनबारे जानकारी गराए।
प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ९० खेलाडी छनोट गरी ६ वटा टोली निर्माण गरिनेछ। ती टोलीले सेतो जर्सीमा सिंगल राउण्ड रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले ३० हजार रुपैयाँ र उपविजेता टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। साथै, म्यान अफ द सिरिजलाई किट ब्याग, उत्कृष्ट ब्याटरलाई ब्याट र उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्