काठमाडौँ । नेकपा (एमाले) को राजनीति र महिला सशक्तीकरण अभियानमा जोडिएको नाम हो भगवती चौधरी । उनको जन्म सुनसरीको गढी गाउँपालिका २, औराबनीमा विक्रम सम्वत् २०२८ साल वैशाख २ गते भएको हो ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्नातक अध्ययन गर्दागर्दै जननेता स्वर्गीय मदन भण्डारीको राजनीतिक व्यक्तित्वबाट प्रभावित भएर उनले समाजसेवा र राजनीतिलाई आफ्नो कर्म बनाएकी थिइन् ।
सामाजिक न्याय, वातावरण संरक्षण र महिला अधिकारका सवालमा शुरूदेखि नै बहस, सचेतना र पैरवी गर्दै आफूले सार्वजनिक जीवनको यात्रा प्रारम्भ गरेको उनी बताउँछिन् ।
समाजका सीमान्तकृत वर्गका मुद्दाहरूलाई मुखरित गर्ने चौधरी विशेषगरी महिलाहरूको आर्थिक सशक्तीकरण तथा समाज र राज्यबाट उपेक्षित वर्ग र समुदायको हक अधिकार स्थापित गर्न घनिभूत रूपमा लागि पर्छिन् । उनले २०४८ सालमा एमालेको सदस्यता लिइन् र २०५८ सालमा संगठित सदस्य भइन् । २०६४ सालमा एमाले जिल्ला कमिटी सुनसरीको सदस्य भएपछि उनी लगातार ६ वर्षसम्म सक्रिय भइन् । त्यसैबेला आफूले दशकौँदेखि नेपाली कांग्रेसको दबदबा रहेको सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कम्युनिस्ट विचारधारालाई जनतामाझ पुर्याएको उनी बताउँछिन् ।
२०७० सालदेखि कोशी अञ्चल कमिटीमा रहेर गाउँगाउँमा युवा, महिला तथा आम नागरिक र पार्टीपङ्तिमा काम गर्दै त्यसको एक वर्षपछि पार्टीको केन्द्रीय कमिटीमा पुगेकी चौधरी पछिल्लो समय २ पटक केन्द्रीय सदस्यमा निर्वाचित भइसकेकी छन् ।
लघुवित्त क्षेत्रमार्फत् महिला सशक्तीकरणलाई अभियानका रूपमा अगाडि बढाउँदै उनले देशभरका महिलाहरूलाई आत्मनिर्भरता, स्वरोजगार र उद्यमशीलतामा जोड्न सफल भएकी छन्, जसले गर्दा लाखौँ महिलाको आर्थिक जीवन रूपान्तरणमा योगदान पुर्याएको उनी बताउँछिन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्