चितवनका तीनवटै क्षेत्रमा एमालेबाट नयाँ अनुहारलाई मौका

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । नेकपा एमालेले आउँदो निर्वाचनका लागि चितवनका तीनवटै क्षेत्रमा नयाँ अनुहारलाई मौका दिएको छ ।

एमालेको केन्द्रीय सचिवालयले शनिबार टुङ्ग्याएको प्रत्यक्ष तर्फका उम्मेदवारको सूचीमा चितवन–१ मा कृष्णराज (कमल) पाठक, चितवन–२ मा अस्मिन घिमिरे र चितवन–३ मा शंकर थपलियाको नाम रहेको छ । यी तीनजना पहिलो पटक निर्वाचनमा उम्मेदवार हुन लागेका व्यक्तिहरु हुन् ।

पहिलो पटक उम्मेदवार हुँदै गरे पनि तीनैजना जिल्लाको राजनीतिमा परिचित नाम हो । कमल पाठक एमाले चितवनको हालका जिल्ला अध्यक्ष हुन् । उनी कानुन व्यवसायीसमेत हुन् । नेपाल बार एशोसियशन चितवन जिल्ला इकाइको पूर्व अध्यक्ष पनि हुन् । पार्टीको बागमती प्रदेश समिति सदस्य रहेका अस्मिन घिमिरे युवाहरुमाझ परिचित छन् ।

चितवन–३ मा एमालेको उम्मेदवार तय भएका शंकर थपलिया एमाले भरतपुर महानगर समितिका अध्यक्ष र पटिहानी पर्यटन विकास समितिका अध्यक्ष हुन् । जिल्लाको पूर्वी भेग राप्ती, खैरहनी र रत्ननगर नगरपालिका समेटिएको चितवन–१ एमालेका लागि बलियो क्षेत्र मानिन्थ्यो । पञ्चायतकालदेखि हुँदै आएका निर्वाचनहरुमा यो भेगबाट ७९ अघि एक पटक बाहेक एमालेका उम्मेदवारहरु विजयी हुँदै आएका थिए ।

तर २०७९ को निर्वाचनमा चितवन–१ मा एमाले पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का हरि ढकाल विजयी भएका थिए । कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्र समेटिेर बनेको चितवन–२ मा पनि चुनाव जित्दै एमालेको उपस्थिति राम्रै हुँदै गएको थियो । तर गएको निर्वाचनमा यहाँ पनि एमाले नराम्ररी पराजित भएको थियो ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा चितवन–२ मा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने अत्याधिक मतान्तरले विजयी हुँदा एमालेका उम्मेदवार दुवै पटक तेस्रो भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *