सिरहा : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको सरकार भएको आरोप लगाएका छन् । मिर्चैयामा मंगलबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचारीहरूलाई कारबाही गर्दै सुशासनका पक्षमा अभियान थालेपछि कांग्रेस र एमालेका नेताहरू भयभित भएर दलाल र बिचौलियाहरूको अगुवाइमा अहिलेको सरकार बनाएको उनले आरोप लगाए । ‘ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए,’ उनले भने, ‘अनि दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिए ।’
दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए । यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने अपेक्षा नराखे पनि हुने उनको भनाइ छ । दाहालले आफू प्रधानमन्त्रीको दौडमा अहिले नरहेको पनि बताएका छन् । ‘म प्रधानमन्त्री बन्ने रेसमा छैन, हामी सरकार बनाउन लाग्दैनौं,’ उनले भने, ‘हामी अब पार्टी बनाउने काममा जुटेका छौं ।’ दाहालले अब आउने चुनावमा आफ्नो पार्टी पहिलो बन्ने दाबी पनि गरे ।
संविधान नै बन्न नदिने षड्यन्त्र भएका बेला संविधानसभाको चुनावमा सिरहावासीले आफूलाई जिताएर निकै ठूलो काम गरेको भन्दै अध्यक्ष दाहालले आभार पनि प्रकट गरे । ‘जाली फटाहाहरूले संविधान नै बन्न नदिने षड्यन्त्र गरेका थिए,’ उनले भने, ‘तर, सिरहावासीले मलाई जिताएर दुष्टहरूको षड्यन्त्र असफल पारिदिए ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया