काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि बैठक बस्ने निर्णय गरेको हो।
भोलिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले मुलुकमा उत्पन्न महाविपद्का विषयमा विशेष प्रस्ताव पेस गर्ने तय भएको छ। उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा सहभागी सबै राजनीतिक दलका नेताहरूले धारणा राख्नेछन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव एकाएक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।
भदौ १० गते नै प्रतिनिधिसभाको बैठक बसेको थियो। त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। कार्यव्यवस्था परामर्श समितिको निर्णयसँगै प्रतिनिधिसभा बैठक पुनः सञ्चालन हुन लागेको हो।
बाढीका कारण स्थानीय बस्ती तथा पूर्वाधारमा क्षति पुग्नुका साथै कैलाश हिमाल र मानसरोवर यात्रामा रहेका पर्यटकसमेत प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो।
बाढीमा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
भोलिको प्रतिनिधिसभा बैठकमा महाविपद्को अवस्था, उद्धार तथा राहतका काम र प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्