पूर्वसहकर्मीको प्रतिस्पर्धाले कर्णालीका चार क्षेत्र चर्चामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाण्डौँ । कर्णाली प्रदेशका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला विशेष चर्चामा छन् । प्रदेश राजधानी रहेको सुर्खेतका दुई क्षेत्रसँगै कालिकोट जिल्ला र रुकुम पश्चिम जिल्लामा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले चुनावी माहोल तातेको हो ।

सुर्खेतका दुवै क्षेत्रमा नेपाली कांग्रेसका ‘हेभिवेट’ नेताहरू यसपटक उम्मेदवार छैनन् । पूर्व उपसभापति पूर्णबहादुर खड्का र पूर्व केन्द्रीय सदस्य हृदयराम थानीको अनुपस्थितिले परिणाम कस्तो आउला भन्ने चासो बढेको छ । कांग्रेसकै पूर्व सहकर्मीहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धामा उत्रिएकाले मत विभाजनको सम्भावना देखिएको छ ।

कालिकोटमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पूर्व सहकर्मी खड्काबहादुर विश्वकर्मा आमनेसामने छन् । विकासको जस लिने होडबाजी र आरोप–प्रत्यारोपले चुनावी ‘वाक्युद्ध’ चर्किएको छ। नेकपाभित्रको टकरावले एमाले र कांग्रेसलाई फाइदा पुग्ने आकलन गरिएको छ ।

यता रुकुम पश्चिममा पूर्वमन्त्री जनार्दन शर्मा आफ्नै पूर्व कार्यकर्ता गोपाल शर्मासँग प्रतिस्पर्धामा छन् । जनार्दनले नयाँ दल गठन गरी चुनाव लडेका छन् भने गोपाल नेकपाबाट मैदानमा छन् । एमालेको समर्थन, माओवादी संगठनको प्रभाव र सम्भावित मत विभाजनले यहाँको प्रतिस्पर्धा रोचक बनेको छ ।

कांग्रेसले संगठन बलियो रहेको दाबी गरे पनि पूर्वसहकर्मीहरूको प्रतिस्पर्धा र नयाँ दलहरूको प्रवेशले कर्णालीका यी चार क्षेत्रको चुनावी परिणाम अनिश्चित र चासोपूर्ण बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *